बेलायतको रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरुले ईतिहास रचे


लन्डन / संसारका गायक–गायिकाको ड्रिम स्टेन मानिने लन्डनस्थित विश्व प्रख्यात रोयल अल्बर्ट हलमा पहिलो पटक नेपाली आवाज गुञ्जियो । पुराना ख्याती कमाएका र नयाँ पुस्ताका गायकहरुको आवाज रोयल अल्बर्ट हलको झिलिमिली बत्तीमा आइतबार साँझ ऐतिहासिक बनेको हो ।

यो ऐतिहासिक रोयल अल्बर्ट हलमा पाका गायक द्वीप श्रेष्ठको म पत्थरको देवता होइन…………… बोलको गीत गुञ्जियो । उनको यो गीतलाई दर्शकदीर्घबाट तालीले भव्य स्वागत गरियो । त्यसपछि ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दीपक थापा, जेम्स प्रधान, सुजील कर्मचार्य, तृष्णा गुरुङलगायतका कलाकारहरुको प्रस्तुति बेजोड रह्यो ।

भूकम्पले चर्किएका मनमा थोरै भए पनि मल्हम लगाउन चर्चित यी गायकहरुले १ सय ४४ वर्ष पुरानो रोयल अल्बर्ट हल छानेका हुन् । कलाकारहरुलाई सो हल सम्म पुराउने तारतम्य हेल्प नेपाल नेटवर्क यूकेले गरेको हो ।

10402461_10153456820614282_1285622167832261211_n

यो सांगीतिक कार्यक्रमबाट बचेको रकम नेपालका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा लगाइने घोषणा कलाकारले यसअघि नै गरेका छन । एन इभिनिङ फर गोर्खा नाम दिएको सो कार्यक्रममा उठेको रकम गोर्खा जिल्लाका भूकम्प पीडित क्षेत्रको स्वास्थ्य र शिक्षमा खर्च गरिने हेल्प नेपाल नेटवर्कले जनाएको छ ।

जब सन्ध्या हुन्छ…., दिल मेरो घबराउँछ….’ लगायतका गीतका गायक योगेश्वर अमात्यले कार्यक्रमको अन्त्यमा बेलायत स्थित नेपाली पत्रकारहरुको माँझमा कार्यक्रम ऐतिहासिक, अविस्मरणीय तथा सफल भएको प्रतिक्रिया दिए ।

यसअघि बाद्यवादकसहित १८ जनाको कलाकार टोली शनिवार दिउँसो लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रेको थियो । बेलायतका लागि कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री लगायत बेलायतका बिभिन्न शहरबाट आएका दर्शकहरुले मनोरन्जन लिए ।

हेल्प नेपाल नेटर्वकका कोषाध्यक्ष सचिन श्रेष्ठका अनुसार करिब २५ सय दर्शकले मनोरन्जन लिए । ऐतिहासिक स्थलमा आफ्नो प्रस्तुती दिन पाउदा कलाकारहरु दंग देखिन्थे । उनीहरुले पटक–पटक आयोजक र कार्यक्रममा उपस्थित दर्शकलाई धन्यवाद दिइरहे । कलाकार द्वीप श्रेष्ठले अल्बर्ट हल कलाकारहरुको मन्दिर भएको प्रतिक्र्रिया दिए ।

रोयल अल्बर्ट हलको प्रस्तुति जीन्दगीकै सबैभन्दा अविष्मरणीय क्षण भएको उनले बताए । गायकहरु आफ्न प्रस्तुति सकेर विदा माग्दा दर्शकहरुले एकै स्वरमा ‘वान्स मोर’ आवाज आउथ्यो । कार्यक्रममा उपस्थित पूर्व मिस यूके नेपाल गौमाया गुरुगंले धेरै गित यसअघि नसुनेको भन्दैं आफू भन्दा धेरै पुराना पुस्ताको गित भए पनि मस्त मनोरन्जन लिएको बताइन ।

London-photo-9

हेज देखी कार्यक्रम हेर्न पुगेको ध्रुब ढकालले कार्यक्रम र टिकट बिक्रीको ब्यवस्थापन निकै फितलो भएको बताए । उनले कार्यक्रम सँयोजनमा निकै कमीकमजोरी देखीए पनि नेपालीले यहाँ सम्म पुगेर कार्यक्रम गर्न सक्छन भन्ने कुराको प्रमाणका रुपमा लिए ।

५ हजार २ सय ७२ सिट क्षमता भएको ऐतिहासिक स्टेजमा दोश्रो बिटल्स्, पिङक् फ्लोयड्, फ्र्यान्क सिनाट्राजस्ता संगीत समूहले प्रस्तूति गरिसकेका छन् ।

विश्व विख्यात व्याण्डहरु बिटल्स्, स्याडोज्, पप समूह दि होलिजदेखि स्पाइस गल्र्स, इङलिस रक व्याण्ड रोलिङ स्टोन्स्, द हुलेसम्म यो स्टेजमा आफ्नो स्वरको जादु छरिसकेका छन् । बार्षिक ३ सय ५० भन्दा बढी इभेन्ट हुने यो हल सन् १८६१ मा बेलायतकी महारानीले उद्घाटन गरेकी हुन् । 

कार्यक्रम सञ्चालक सञ्चारकर्मी भुषण दाहालले नेपालका पुराना कलाकारहरुले रोयल अल्बर्ट हलको प्रस्तुतिपछि नेपाली गीत संगीतले नयाँ उचाइ लिएको बताए । उनले कार्यक्रममा सहभागी हुन पाएकोमा प्रसन्नता ब्यक्त गरे ।

यसअघि निकै रोमान्चक रुपमा कार्यक्रममा प्रस्तुत हुने दाहाल लन्डनमा भने अल्ली फिका रुपमा प्रस्तुत भएको नेपाल ब्रिटेन डटकमले जनाएको छ ।