पर्वतका भूकम्प पीडितलाई हङकङबाट राहत


सन्देश श्रेष्ठ
पोखरा । हङकङ नेपाली अल्पसंख्यक संगठनले पर्वतका भूकम्प पीडितलाई राहत प्रदान गरेको छ । संगठनका अध्यक्ष अशोककुमार गहतराज सुनारको नेतृत्वमा संगठनका सदस्य तथा हङकङमा रहेका नेपालीहरुबाट संकलित राहत पोखराका दलित समाजसेवी गंगाराम सुनारको नेतृत्वमा पर्वतको ठानामौला-९ अर्चले र कुश्मा-१७ सेरा सुनटारीका भूकम्पपीडितलाई वितरण गरिएको हो ।

हङकङबाट पठाएको उक्त राहत सामग्री लिएर गएको गंगारामसहित प्रेमबहादुर रसाइली, बिजय रसाइली, राजु रसाइली, अर्जुन रसाइली, सुमित रसाइली, कविता सुनार लगायतको टोलीले ठानामौला-९ अर्चलेमा ३१ दलित परिवार र २ गैरदलितसहित ३३ परिवारलाई ५ हजार ८ सयका दरले राहत वितरण गरेको हो ।

त्यस्तै सो टोलीले कुश्मा-१७ सेरा सुनटारीमा ३ गैरदलित र २९ दलितसहित ३२ परिवारलाई एक/एक बण्डल जस्तापाता पनि वितरण गरेको थियो ।