एमाओवादी कास्कीद्वारा ६० घर पुर्ननिर्माण


– सन्देश श्रेष्ठ
पोखरा /
भुकम्पले भत्काएका जनताको घर पुर्ननिर्माणमा जुटेको एकीकृत नेकपा माओवादी कास्कीले ६० घर पुर्ननिर्माण गरेको छ । गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्केका तथा चर्केका घरहरु एकीकृत माओवादीले पुर्ननिर्माण गरेको हो ।

पार्टीका कास्की उपाध्यक्ष गंगा पोखरेलको संयोजकत्वमा पुर्ननिर्माण टोली नै बनाएर एमाओवादी कास्कीले पुर्ननिर्माण अभियान सञ्चालन गरिरहेको छ । टोलीमा केन्द्रीय स्तरका नेताहरु रामराज रेग्मी, राजकाजी गुरुङ ‘करण’ लगायतका नेताहरु पनि सकृय भएर खटिएका छन् ।

गत जेठ ६ गतेबाट पुर्ननिर्माणमा जुटेको एमाओवादी कास्कीले माझठानामा १२, कालिकामा १०, रुपाकोटामा ८, देउरालीमा ११, थुम्कीमा १०, हंसपुरमा ९ वटा भत्केका घरहरु पुर्ननिर्माण गरेको संयोजक पोखरेलले जानकारी दिए । उनका अनुसार बुधबार हंसपुरमा सकेर विहीबार लेखनाथ–६ मा घर पुर्ननिर्माण गरिनेछ । त्यसपछि मिजुरे, सैमराङ, भाचोक, सिल्दुजुरे लगायतका गाउहरुमा पनि पुर्ननिर्माण अभियान सञ्चालन गर्ने उनले जानकारी दिए ।

पुर्ननिर्माणमा खटिएका माओवादीले स्थानिय ठाउँमा उपलब्ध ढुङ्गा, माटो, वालुवा, बाँस, काठ लगायतको प्रयोग गरेर घर पुर्ननिर्माण गर्ने गरेका छन् । ‘घर भत्केकाहरुको नयाँ घर बनाईदिएका छौं, खतरा भएका घर भत्काएर पुर्ननिर्माण गरेका छौं भने कहिं मर्मत सम्भार गरेर बस्न लायक बनाईदिएका छौं ।’–संयोजक पोखरेलले भने ।

एमाओवादीको पुर्ननिर्माणबाट जनता खुशी

एमाओवादी कास्की पुर्ननिर्माणमा जुटेपछि कस्केली जनता खुशी भएका छन् । घर भत्केर पालमा बस्दै आएकाहरुको एमाओवादीले घर पुर्ननिर्माण गरेर हस्तान्तरण गरेपछि उनीहरु खुशी भएका हुन् ।

सरकारले घर बनाईदिने भनेपनि अस्थायी पुर्नबास सम्म नहुँदा पालमा रात बिताउन बाध्य कस्केली जनता एमाओवादीको पुर्ननिर्माणले आहत मनमा राहत दिएको बताउँछन् । भुकम्पले घर भत्केर बिस्थापित कास्की हसंपुर–३ की ६८ बर्षीया हरिमाया न्यौपाने एमाओवादीले घर पुर्ननिर्माण गरेर घर फर्काई दिएपछि यतिबेला दङ्ग छिन् ।

11294488_835551366527222_962961417_oपालमा बस्दा बस्दा आत्तिएकी उनले माओवादीले घर बनाई दिएर ठूलो गुन लगाएको भन्दै भनिन्, ‘माओवादीले घर बनाईदिएर ठूलो राहत दियो, अन्य पार्टीहरु पनि यसरी पुर्ननिर्माणमा जुटे हामीजस्ता अन्य गरीबले बर्खाको समयमा राहत पाउने थिए ।’

कास्की जिल्लामा मात्रै नभई एमाओवादी कास्की गोरखा, लमजुङ्ग, धादिङ्ग लगायतका जिल्लामा पनि पुर्ननिर्माण अभियान लिएर पुगेको छ । एमाओवादी कास्कीका अध्यक्ष दीपक कोईराला ‘रुपक’सहितको टोली गोर्खामा पुर्ननिर्माण अभियानमा जुटिरहेको छ ।

कांग्रेस–एमाले पनि पुर्ननिर्माणमा

एमाओवादी जस्तै कास्कीका २ ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले पनि पुर्ननिर्माणमा जुटिरहेका छन् । एमाओवादी कास्कीमा केन्द्रीत रहेर पुर्ननिर्माण अभियानमा जुटिरहेका बेला कांग्रेस एमाले भने बाहिरी जिल्लामा केन्द्रीत बनेको छ ।

नेपाली कांगेस कास्की केन्द्रको निर्देशन अनुसार लमजुङ्गमा पुर्ननिर्माण अभियानमा जुटिरहेको छ । जेठ १५ गतेबाट लमजुङ्ग पुगेको कांग्रेस टोलीले त्यहाँ श्रमदान गरिरहेको टोलीमा सहभाग कांग्रेस कास्कीका सचिव कृष्ण केसीले बताए । उनले लमजुङ्गको पारचोक, बाहुनडाँडा लगायतका क्षेत्रमा पुर्ननिर्माण भइरहेको जानकारी दिए । उनका अनुसार गोरखामा पनि कांग्रेस कास्कीको एक टोली पुगेर पुर्ननिर्माणमा जुटिरहेको छ ।

त्यस्तै, नेकपा एमाले गोर्खामा भत्केका घरहरुको पुर्ननिर्माण जुटिरहेको छ । जेठ १२ गतेदेखि नै गोर्खा पुगेको टोलीले त्यहाँ भत्केका घर तथा विद्यालयको पुर्ननिर्माण गरिरहेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । तुलनात्मक रुपमा गोरखा बढी प्रभावित भएकाले पुर्ननिर्माणलाई गोर्खा केन्द्रीत गरेको उनले बताए । त्यस्तै, पर्वत, वागलुङ्ग लगायतका जिल्लामा पनि आफुहरुको टोली पुगेको उनले बताए ।