शेष घले ५१ स्थान माथि उक्लिए, अष्ट्रेलियाका धनाढ्यको सूचीको ९९ औं नम्बरमा


काठमाण्डौ /
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् ।

गत वर्ष १५० औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अघिल्लो बर्ष १५१ औं नम्बरमा रहेकी उनकी पत्नी जमुना यो बर्ष १०० स्थानमा उक्लेकी छिन् ।

अस्ट्रेलियाका धनाढ्यहरुको सूचि प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले आज सार्वजनिक गरेको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित रुपमा ९९ औँ स्थानमा परेका हुन् ।

घले दम्पतीको पछिल्लो एक वर्षमा कुल सम्पत्तिमा झण्डै १५ करोड डलर वृद्धि भएको देखिएको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ३३ करोड ५० लाख डलर थियो । घलेकी पत्नी जमुना अष्ट्रेलियाली धनाढ्य महिलाहरुको सूचीमा आठौं धनी महिला हुन् ।

अस्ट्रेलियाको मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक समेत रहेका घलेको शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी रहेको छ ।