सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीद्वारा आत्महत्या


काठमाडौं / सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले स्वेइच्छाले देह त्यागेको नोट लेखेर अात्महत्या गरेका छन्।अकस्मात उनको अात्महत्याको खबर सुनेपछि उनका शुभचिन्तकहरु स्तब्ध बने।

झोँकी स्वभावका थिए, त्यसैले २०६९ सालमा उनले सर्वोच्च अदालतको अस्थायी न्यायाधीशपदबाट अकस्मात राजिनामा दिएका थिए।

४ वर्ष सम्म अस्थायीरुपमा न्यायाधीश हुँदा पनि स्थायी नगरेको भन्दै तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई राजिनामा बुझाए।

प्रहरीका अनुसार तीन तले घरको दोस्रो तलाको सिलिङ फ्यानमा नाइलनको डोरीको पासो लगाएर उप्रेतीले आत्महत्या गरेका छन् ।

घरमा उप्रेतीका पत्नी र एक सहयोगी पनि थिए । उनीहरुले खबर गरेपछि प्रहरी गएको थियो । कमलपोखरी प्रहरीका इन्स्पेक्टर नारायण रन्जितकारका अनुसार उप्रेतीको सुसाइड नोट पनि भेटिएको छ ।

परिवारका सदस्यहरुलाई सम्बोधन गरिएको सुसाइड नोटमा आफ्नो अन्त्येष्टि बाग्मतीमा नगर्न र शव शिक्षण अस्पतालका विद्यार्थीहरुलाई दिन भनेका छन् ।

साथै सुटाइट नोटमा उनले अाफ्नो मृत्युलार्इ स्वेच्छिक भनेका छन् । उप्रेतीले अाफ्नो किरिया खर्चको रकम भूकम्प पीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिदिन अाग्रह गरेका छन् ।

यसैबीच उप्रेतीको पार्थिव शरीरमा सभामुख सुवास नेम्वाङले श्रद्धाञ्जली दिएका छन् ।कानुन व्यवसायी समेत रहेका नेम्वाङ उप्रेतीको निवासमै पुगेर श्रद्धाञ्जली दिएका हुन् । उनलाई आफन्त, शुभचिन्तक र बिभिन्न व्यक्तित्वहरुले लामबद्ध भएर पालैपालो श्रद्धाञ्जली दिएका थिए ।