डेनमार्कमा नेपालीहरुबीच भलिवल खेलको रौनक


प्रकाश ढकाल, कोपनहेगन ।

महिला टिमको पनि छुट्टै भलिवल प्रतियोगीता

अहिले डेनमार्कमा नेपालीहरुबीच भलिवल खेलको रौनक देखिन थालेको छ । अर्को महिना जुनको १३ र १४ गते प्रवासी नेपाली मंच डेनमार्कले आयोजना गर्न लागेको भलिवल कप प्रतियोगीताको कारण पनि यो रौकन छाएको हो । नेपाली नेपाली बीच हुने यस भलिवल प्रतियोगीता निकै रोमाञ्चक हुने देखिएको छ । प्रवासमा रहंदा पनि साथि भाइ बीच यसरी बेला बेलामा खेलकुद हुनु साथै प्रतियोगीता हुनुले साथीभाई बीच पनि सुमधुर सम्बन्ध कायम राखी रहन मद्धत पुग्ने पनि देखिन्छ । गर्मी याम शुरु संगै हुन लागेको प्रतियोगीताले थप रौनक ल्याउने देखिन्छ ।

Screenshot_2015-05-23-23-39-32

यो प्रतियोगितामा पुरुष मात्र नभई महिला पनि सहभागी हुँदै छन । महिलाहरुको पनि छुट्टै टिम रहेको र तीन टिम सहभागी हुने तय भै सकेको छ । महिलाहरुको मात्र छुट्टै प्रतियोगीता गराइने आयोजक संस्थाले जानकारी दिएको छ । यसरी महिलाहरुको पनि प्रतियोगीता संचालन हुने हुँदा खेलप्रति महिला दिदीबहिनिहरुको पनि उत्तिकै रुचि रहेको देखाउंछ ।

आयोजकले बताए अनुसार भलिवल ‘इन्डोर’ को रुपमा खेलाइने छ जसको लागि जुन १३ र १४ गते शनिबार र आइतबार दुइ दिन नअबोहेलेनको ‘इन्डोर स्पोर्ट स्पट’ खेल प्रतियोगीताको लागि लिइएको आयोजक संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । पौडेलले बताए अनुसार बाहिर मैदानमा खेलाउँदा वर्षा पनि हुन सक्ने भएकोले हालमा खेलाइन लागिएको हो ।

महिलाहरुको टिम सहित हाल सम्म करीब नौ/ दश टिमले सहभागी जनाउन सक्ने देखिए पनि टिम संख्या अझै यकिन नभएकोले यो महिना मे को अन्तीमसम्म पनि टिमको नामावली दर्ता सकिने संस्थाका उपाध्यक्ष बिष्णु पौडेलले बताए । आयोजक संस्था प्रवासी मंच खेललाई मर्यादापुर्वक संचालन गर्नको लागि सहभागी प्रत्येक टिमका क्याप्टेन र मेनेजरलाई सामुहिक सहभागी गराई सल्लाह र सुझाव अनुसार खेल सन्चालन गरिने मंचका महासचिव दिपक पाण्डेले बताए । उनले बताए अनुसार नेपाली नेपाली बीच भाइचाराको लागि पनि नेपाली समुदायमा यस्तो प्रतियोगीता आवश्यक रहेको हुन्छ ।

20150515_151324

प्रतियोगीता आयोजना हुने थाहा भए लगत्तै नअबो को चौर तथा नअबोहेलेन को इन्डोर मौदानमा खेलाडी खेलाडी बीच टिम बनाएर प्रतिष्पर्धा पनि दिनहुँ भइरहेका छन जसका कारण खेलाडीहरु खेलमा अभ्यस्त बन्दै गएको देखिएका छन । अभ्यास खेल हेर्दा निकै राम्रा खेलाडीहरु डेनमार्कको नेपाली समुदायमा रहेको देखिएका छन् । जितेन्द्र कार्की, दिपेन्द्र सुवेदी, जीवन खड्का, कृष्ण के. सी. खिम पुन, किसन खत्री, द्रोण बहादुर क्षत्री, शिव चापागाईं, आदी लगायतका निकै राम्रा खेलाडीहरु रहेको देखिएको छ । तर यी उल्लेखित सबै खेलाडीहरु छुट्टै टिम अन्तर्गत खेल्ने भएकोले खेल निकै रोचक हुने निश्चित रहेको छ । आइतबार २४ मे सम्ममा सबै टिमको टुंगो लाग्ने देखिएको छ । यसै बीच निकै राम्रा मानिएका दुइ खेलाडीले नाम नबताउने शर्तमा बताए अनुसार धेरै साथीहरुले आफनो टिमबाट खेल्न कर गरे पनि सबै साथीभाई आफनै जस्तो भएकोले जुन टिमबाट खेले पनि फरक नपर्ने बताउंदै निर्णय गर्न गारो भएको बताए तर छिट्टै टिमको टुंगो लाग्ने पनि उनीहरुले बताए । यसै गरी धौलागिरी टिमका एक खेलाडी गणेश शर्माका अनुसार जो जता बाट खेले पनि फरक नपर्ने र खेल जित्नको लागि भन्दा पनि सबैको लागि हेर्ने दर्शक र सहभागी सबै टिमको लागि रमाइलो र उत्साहजनक बन्नु पर्ने बताए ।

यसरी प्रवासमा खेलकुद प्रतियोगीता संचालन हुँदा बेला बेलामा साथीभाई बीच भेटघाट भैरहने र आपसी भाइचारा वृद्धि गर्न सघाउ पुग्ने देखिन्छ । खेलको रौनक ल्याई प्रतियोगीता आयोजना गर्ने  प्रवासी नेपाली मंच डेनमार्कलाई सबैले प्रशंशा गरेका छन् ।