लेखनाथस्थित बेगनासतालमा डुंगा पल्टेर २ बालिकाको मृत्यु


पोखरा । कास्कीको लेखनाथस्थित बेगनासतालमा डुंगा पल्टेर २ बालिकाको मृत्यु भएको छ । अन्य ३ जना पौडिएर बाँच्न सफल भएका छन् ।

डुंगा पल्टिएर लेखनाथ-११ पचभैयाका १३ वर्षीया सिता सुनार र १२ वर्षीया ममता गुरुङको मृत्यु भएको हो । अमरसिद्ध नमूना उच्च मा.वि.लेखनाथमा सुनार कक्षा ८ र गुरुङ कक्षा ७ की विद्यार्थी हुन् ।

शनिबार दिउँसो वनमा घाँस-दाउरा काट्न जंगल गएका उनीहरु गर्मी भएको भन्दै नुहाउन तालमा पसेका थिए । जलारीले काम नलाग्ने भएर छाडेको पुरानो डुंगा देखेपछि उनीहरु डुंगा सयर गर्न थालेका थिए ।

पानी छिर्ने सो डुंगा चलाउँदै तालको बीच भागमा पुगेका बेला डुंगा पल्टिदा उनीहरुको मृत्यु भएको स्थानीय दामोदरभक्त थापाले बताए ।

पौडिएर बाँचेकाले खबर गरेपछि उद्धारमा गएको डाँडाकोनाक प्रहरी चौकी र स्थानीय जलारीको टोलीले काँडेतारको सहायताले बालिकाहरुको शव बाहिर निकालेको थियो ।
स्थानीय थापाका अनुसार थोत्रिएर काम नलाग्ने डुंगा प्रयोग गर्दा पल्टिएको हो । साथै उनीहरुले लाईफ ज्याकेट समेत प्रयोग गरेका थिएनन् ।

पोखराका फेवाताल र बेगनासतालमा लाईफ ज्याकेट अनिवार्य गरिएको छ । अनिवार्य गरेपनि हेलचेक्राइ गरेर लाईफ ज्याकेट नलाउँदा यी तालहरुमा पटक-पटक डुंगा दुर्घटना भएर ज्यान जाने गरेको छ ।

बालिकाहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।