भूकम्प प्रभावितलाई पुनस्थापना गर्न एमालेले स्वयंसेवक परिचालन गर्ने


राजाराम पौडेल/पोखरा ।
नेकपा एमाले अञ्चल समन्वय कमिटि गण्डकीले भूकम्प प्रभावितहरुको घर टहरा निर्माणको लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । सिंगो पार्टी–पक्ति, मोर्चा संगठनलाई स्वयंसेवी रुपमा परिचालन गरेर गाउँ गाउँमा भत्केको घर तथा विद्यालय भवन निर्माण गरिने पोलिटव्यूरोका वैकल्पिक सदस्य तथा गण्डकी इन्चार्ज जगत वि.क.ले जानकारी दिए ।
अनेरास्ववीयुले केन्द्रको समन्वयमा कास्की र लमजुङ्गका विद्यार्थीहरुले गोरखाको आरुघाट स्थीत भिमोदय उच्च माविको ४ ओटा कक्षा कोठा बनाएका छन् । पार्टी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित भूकम्प पिडित उद्धार तथा राहत समन्वय समितिको समन्वयमा अञ्चल कमिटिले गाउँ गाउँमा स्वयंसेवक परिचालन गरेर भूकम्प प्रभावितहरुको लागि तत्काल पुनस्थापनाको लागि सहयोग पु¥याउन लागेको हो । अञ्चल इन्चार्ज वि.क.ले गण्डकीका सबै जिल्ला कमिटिहरुको तत्काल र्वैठक बसी जिल्ला तहमा योजना बनाएर स्वयंसेवक परिचालन गर्ने जानकारी दिए । उनले अञ्चल समन्वय कमिटिको तेस्रो पुर्ण वैठकले भूकम्प प्रमावितहरुको पुनस्थापनाको लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको बताए । उनले सो अभियान संचालन गर्नको लागि सामाजिक संघ संस्थाहरुसंग समन्वय गरेर काम गर्ने जानकारी दिए ।
भूकम्पको कारण धेरै पहाडी भु–भागहरु चर्किएको र बस्ती तल भएकोले वर्षात शुरु हुनु भन्दा अगाडी बाढी पहिरो जाने ठाउँको पहिचान गरी काम थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै वैठकले त्यस्ता जोखिममा रहेका बस्तीहरुलाई छिटो भन्दा छिटो पुनर्वासको व्यवस्था गर्न आग्रह गरेको छ । हाल वितरीत त्रिपालले वर्षालाई धान्न नसक्ने भएकोले जस्तापाताको प्रबन्ध गर्न माग गर्दै एमाले गण्डकीले भूकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माण गर्दा भूकम्प प्रतिरोधी भवन निर्माण र एकिकृत बस्ती विकास गर्न सरकार संग आव्हान गरेको छ । वैठकले अञ्चल कमिटिका नेता सभासद, कमिटिका पुर्व सदस्य मोर्चा संगठनका नेताहरुलाई शक्तिशाली भुकम्प तथा पराकम्पनले पारेको प्रभाव बारे जनता संग भेटघाट गरी पुनस्थापना तथा पुननिर्माणमा जुट्न निर्देशन गरेको छ । प्रमुख अतिथि केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष तथा स्थायी समिति सदस्य सोमनाथ प्यासीले भूकम्प प्रभावितहरुको राहत पुनस्थापना तथा पुननिर्माणमा सिंगो पार्टी पंक्ति एक ढिक्का भएर, परिचालित हुने बताए । वैठकले नेकपा एमाले केन्द्रिय प्राकृतिक विपत्ती राहत कोषको कृषि विकास वैंक, काठमाडौ कालिमाटी शाखा को चल्ती खाता नं.०२१०३००७१७९१७०१०मा रकम जम्मा गर्न सबैमा आव्हान गरेको केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज माया नाथ अधिकारीले जानकारी दिए ।
भूकम्प गए लगत्तै अहिले सम्म उद्धार तथा राहत कार्यको लागि जुट्ने नेपाल सरकार, राजनितिक दल, राष्ट्रसेवक, कर्मचारी ,चिकित्सक,उद्धारकर्ता सेना, प्रहरी, सशस्त्र प्रहरी, मित्र राष्ट्र, स्वदेशी तथा विदेशी संघ संस्थालाई धन्यवाद ज्ञापन गर्दै वैठकले पिडितहरुको लागि राहत पुनस्थापना, पुननिर्माण र पुनर्वास समेतको प्रभावकारी व्यवस्थापन र निति कार्यक्रम संचालन गर्न सरकार संग माग गरेको छ । एमाले गण्डकीमा सबै जिल्लामा गरी ६६ हजार ८ सय ५७ घर पुर्ण क्षति र ५१ हजार ३४ घर आंशिक क्षति भएको विवरण आएको जानकारी दिदै सहइन्चार्ज अधिकारीले २९ गतेको शक्तिशाली पराकम्पनले क्षतिको विवरण अझै बढ्ने बताए ।