भूकम्प आएदेखि न दिनमा भोक छ, न त रातमा निन्द्रा


– सन्देश श्रेष्ठ
पोखरा / ‘घर त छ, तर भत्केर बस्न नमिल्ने, समाज घरको भवनमा बसेको १९ दिन भइसक्यो, न कोही अनुगमनका लागि आएका छन्, न त राहत बाँड्न नै । कतिञ्जेल यसरी बस्नु ?’ कास्की देउराली ९ रामदीका मनबहादुर गुरुङको दुःखेसो हो यो ।
उनी मात्र हैन देउराली गाउँका ३६ घरमध्ये ३३ घर परिवार अहिले यस्तै समस्या भोगिरहेका छन् ।

बाहिरबाट हेर्दा एकाध घरबाहेक सबै घरहरु दुरुस्तै छन्, भित्र बस्नै नमिल्ने । सरकारी अनुगमन छ भन्छन् तर अहिलेसम्म अनुहार देखाएका छैनन् । अरु त परै जाओस् गाविस सचिवसम्मले पनि गाउँमा खुट्टा नटेको स्थानीय बताउँछन् ।

देउराली रामदीका कुनै घर सग्ला छैनन्, केही चर्किएका छन् । त्यो भन्दा बढी मन भत्किएको छ स्थानीयको । दुःखले जोडेको सम्पत्ति खर्च गरेर बनाएको घर नै भत्किएपछि बाँकी जीवन कसरी कट्ला भन्ने चिन्तामा छन् उनीहरु ।

‘घर भत्किएर बस्न डरलाग्दो छ, बस्न मिल्ने हो कि हैन ? केही थाहा छैन, सरकारी टोली आएर भन्दिए हुन्थ्यो नि बस्न मिल्छ कि मिल्दैन भनेर,’ स्थानीय मनबहादुरले गुनासो गर्दै भने, ‘भूकम्प आएदेखि न दिनमा भोक छ, न त रातमा निन्द्रा नै । जतिबेला पनि कतिबेला भूकम्प आउँछ र भत्केको घरले थिच्ला भन्ने चिन्ताले सताइरहन्छ ।’

आफ्नै गाउँमा शरणार्थी ?

कास्कीका देउरालीबासी अहिले आफ्नै गाउँमा शरणार्थी सरह बनेको गुनासो गर्दैछन् । ‘न घर रह्यो, न त बासको ज्ञारेन्टी नै छ, के गर्नु सर ! आफ्नै देशको आफ्नै गाउँमा शरणार्थी बन्नुपरेको छ,’ स्थानीय टेकबहादुर गुरुङले भने, ‘दैवको लीला, सबै घर भत्केर सम्पति सबै स्वाहा भएपछि शरणार्थी बन्न बाध्य बनायो ।’

उनले नजिकैको समाज घरको भवनमा बसेर रात कटाइरहेका छन् । उनका अनुसार सो भवनमा अहिले करीब ६० जना रात कटाउँछन् । पानी पर्दा पनि त्यहिँ ओत लाग्छन् ।
रामदीबासीले चाँडो भन्दा चाँडो भत्किएका घरमा बस्न हुने वा नहुने अनुगमन गरेर भनिदिन आग्रह गरेका छन् ।

उनीहरुले राज्यबाट राहत नआए पनि भत्केका घरलाई दिने भनेको रकम दिएर घर बनाइदिने आशा गरेका छन् । तर कहिले ?
रामदीबासीको एउटै स्वर छ, ‘ढिलो चाँडो घर बनाइदिने आशा गरेका छौं ।’ उनीहरुले वर्षायाम अगाडि नै घर बनाइदिन आग्रह गरे ।

स्विस नागरिकको राहत

यसैबीच, रामदीका आहत मनमा स्विजरल्याण्डका नागरिक फ्रेन्चिस्काले राहत वितरण गरेकी छन् । पोखरा ५ मालेपाटनस्थित वाराही उच्च माविमा स्वयम्सेवा गर्दै आएकी उनले विपदमा परेका नेपालीलाई आफ्नो तर्फबाट राहत बाँडेकी हुन् ।

राहतका लागि होटल स्नो लियोपार्ड लेकसाईडका सञ्चालक तिलक क्षेत्रीले समन्वय गरेका थिए ।

त्रिपाल वितरण कार्यक्रममा स्थानीयले अवीर र फूलमालाले स्वागत गर्दा फ्रेन्चिस्काले भक्कानिएर आँशु झारिन् र भनिन्, ‘नेपालीको कत्ति उदार मन छ, बिपदमा पर्दा पनि आफ्नो संस्कृति भुल्दैनन्, अनि आफ्नो पीडा भुलेर अतिथीलाई हाँसी हाँसी स्वागत गर्छन्, योबाट म अति नै प्रभावित भएकी छु ।’

फ्रेन्चिस्काले देउरालीको रामदीस्थित भत्किएका घर तथा वीरेन्द्र प्राविको अवलोकन पश्चात आगामी दिनमा पनि सहयोग गर्ने बचन दिइन् ।

देश अर्कै, भाषा अर्कै भएपनि मन एउटै हो, यहि भावनाले बिपदमा परेका नेपालीलाई सहयोग गरेको भन्दै स्थानीयले फ्रेन्चिस्कालाई धन्यवाद दिए ।

राहतका लागि समन्वय गर्दै आएका तिलक क्षेत्रीले राहत प्रदान गर्न आगामी दिनमा पनि पहल जारी राख्ने बताए ।