नेपाली श्रमको सदुपयोग गरी पुनर्निर्माण गरौँ


– प्रकाश ढकाल

यतिबेला भुकम्पपछिको नेपाल उद्धार तथा राहतमा व्यस्त छ । उद्धार र राहत वितरण ढिलाई भए पनि काम भैरहेको छ । सरकारी मात्र हैन विभिन्न क्षेत्रबाट राहत तथा उद्धार कार्य जारी छ । अबको समस्या भनेको बर्षा याम शुरु नहुँदै कसरी घरबार बिहिनहरुलाई पुनर्स्थापित गर्न सकिन्छ भन्ने हो ।

यसै पनि भुकम्पले क्षत विक्षत बनाएका पहाडी इलाकाहरुमा वर्षा संगै बाढी पहिरोको सम्भावना छ । सिन्धुपाल्चोक, धादिङ्, गोरखा, लमजुङ् लगायतका धेरै पहाडी बस्तीहरु यसको उच्च जोखिममा छन् । यस्तो खालको विपत्ती एकैपटक आइपरेको र नेपालले तयारी केहि नगरेको कारण आपतकालीन उद्धार र राहत ढिलो हुन पुगेको हो ।

यसको प्रमुख कारम विगत पच्चीस वर्षदेखि देशका प्रमुख दल केवल राजनीतिक खिताचानीमै रमाए देशको आवश्यकता तिर ध्यान दिएनन अनि यस्तो कुरा यिनीहरुको प्राथमिकतामा कहिल्यै पनि परेन । विपत्ती बाजा बजाएर कहिल्यै आउँदैन न त पुर्व जानकारी दिएर नै आउँछ त्यसकारण पुर्वतयारीमा रहनु पर्ने आवश्यकता अहिलेको विपत्तीले देखायो ।

अहिलेको विपत्तीले धेरैको आँखा भने खोलेको हुनुपर्छ । नब्बे सालको भुकम्प बारे धेरैलाई जानकारी थियो तर नदेखेको हुनाले फेरि त्यस्तै आउँछ कि भनेर केहि मतलब गरिएन । जब अहिले फेरि भुकम्प आयो तब परेपछि सबैको चेत खुल्यो । यसले सरकार, यसका संयन्त्र र नागरीक सबैमा एउटा चतना अवश्य जगाएको हुनुपर्छ ।

नेपालको गौरव धरहरा, वसन्तपुर दरबार भक्तपुर दरबार, स्वयम्भु, उच्च शिखर सगरमाथामा पनि भुकम्पले क्षती पुर्याएकोले सबै नेपालीहरुको मन कटक्क खायो जसका कारण एक किसिमको एकता पनि देखियो । विशेष गरी युवा पुस्ता जसले यी सम्पदा र देशको शान र गौरवका कुराहरुको महत्व बुझेका थिए तिनीहरुमा एक किसिमको दुखाइ महशुश गराई दियो यो महाविपत्तीले । यसैको जगमा उभिएर नेपालको पुनर्निर्माण सम्भव रहेको छ भनेर भन्नु सान्दर्भिक हुन आउला ।

Screen Shot 2015-05-14 at 10.45.38

देशको विगतको पच्चीस वर्षको राजनीतिक खिताचानी व्यहोरेको छ अहिलेको पुस्ताले । जनयुद्ध देखि जनाअन्दोलन दुई र गणतन्त्र नेपालको घोषणा पनि यहि पुस्ताले व्यहोरेको छ । परिवर्तन चाहने अहिलेको पुस्ता देशमा चलिरहेको लाजलाग्दो राजनीतिक खिताचानी प्रति दिक्क छ र उचित विकल्पको पर्खाइमा पनि छ । विकल्प केहि नभएको कारण यहि राजनीतिक पार्टीलाइ चुनावमा भोट हाल्नु बाहेक केहि गर्न सकेको छैन अहिलेको युवा पुस्ताले । तर भुकम्प पछिको विपत्तीले राजनीतिक दल बाहेकका सबैलाई एक बनाइ दिएको छ ।

भुकम्पले भौतिक सम्पत्ति मात्र क्षत विक्षत पारेन गाउँका गरीबका भकारीका अन्न पनि पुरीए, अझै कति आफन्त त्यहि पुरिएको ढिस्को भित्र छन्, धेरैलाइ घरबार बिहिन मात्र बनाएन आफन्त पनि गुमाउने बनायो र अझै कति आफन्त हराई रहेका छन् । गाउँका गरीबले खेति गर्ने खेत बारीका गह्राहरु चिरिएका छन् त्यहाँ कसरी खेति गर्ने हो त्यसको ठेगान छैन यति मात्र हैन भुकम्पले प्रत्येक देश विदेशमा रहेका नेपाली हरुको मन समेत क्षत विक्षत पार्यो ।

यहि क्षत विक्षत भौतिक सम्पत्ति, खेत बारी अनि नेपाली मन र मस्तिष्कको जगमा उभिएर क्षत विक्षत गाउँको निर्माण सम्भव छ, नयाँ नेपाल निर्माण सम्भव छ, घाइते अनि मृतकका आफन्त अनि प्रत्येक नेपाली मनलाइ मल्हम लगाउन सम्भव छ । पुनर्निर्माण अहिलेकै युवा पुस्ताबाट सम्भव छ ।

निर्माण एकै रात र वर्षमा सम्भव छैन यसले वर्ष अनि दशकौ वर्ष पनि लिन सक्छ तर सम्भव छ । आजका अमेरिका, युरोप, कोरिया, सिंगापुर, जापान लगायतका देशहरु एकै रात अनि एकै वर्षमा बनेका हैन यसको लागि दशकौं लागेको छ । एक पुस्ताले समर्पण अनि रगत र पसिनाले सिंचित गरी ती देशको निर्माण गरेका हुन् । यस्तै संभावना हाम्रो नेपालमा पनि सम्भव छ । नेपालीकै श्रम र पशिनाले देश निर्माण सम्भव छ ।

आज आफनो परिवारलाइ दुइ छाक मिठो मसिनो खान र राम्रो लगाउने अभिलाषा पुरा गर्न एउटा नेपाली युवा खाडीमा दश-पन्ध्र हजारमा रगत र पशिना बगाउन तयार हुन्छ भने त्यही श्रम उ नेपालमा गर्न तयार पनि छ खाँचो छ त उसलाई केवल विश्वाशको अनि भरोसाको । उसलाई भरोसा मात्र देउ देशको लागि मरिमेट्न उ तयार छ । दशकौं देखिको राजनीतिक खिचातानीले उसको विश्वास डगमगाएको मात्र हो तर मरेको छैन । आफना बाबु आमा बिरामी हुँदा साहुसँग ३ रुपैंया ब्याजको ऋण काढेर अस्पताल लैजानु पर्ने कुप्रथाको अन्त गरिदेउ उ देशको लागि जे पनि गर्न तयार छ ।

आफनै मातृभूमीमा आफनै श्रम गर्ने ठाउँ र बाटो देखाइदेउ अरे उ ८ घण्टा हैन १२ घण्टा पसिना बगाउन तयार छ । देशमा खोज्दा खोज्दा भौतारिएर केहि नपाएर उ केहि खोज्न र गर्न विदेश गएको हो । अहिलेको पुस्ताको सबै भन्दा ठुलो सम्पत्ति भनेको उसको आत्मबल र आत्मविश्वाश हो जसबाट उ जस्तो किसिमको पनि श्रम गर्न पछि पर्दैन । हंगकंगका ठुला ठुला भवन नेपाली श्रमले बनेको हो । कतार, दुबई, साउदी लगायतका खाडी मुलुकमा नेपाली श्रमबाट गगनचुम्बी महल ठड्याउन सम्भव छ भने आफनो देशमा किन सम्भव नहुने ? यो प्रश्न हरेक नेपाली श्रमिकले विदेशमा पसिना बहाएको बेला प्रत्येक पल आँफै संग गर्ने प्रश्न हो ।

तर हाम्रो देशमा राजनीतिले सबै कुरा केन्द्रित गरेको कारण यी र यस्ता थुप्रै प्रश्नहरु यसैसंग बिलाएर जान्छन । अहिले राजनीतिक नेतृत्वले यो युवा पुस्ताको मन र मस्तिष्क नै खलबलाई दिएको छ । यो सत्य हो अहिलेको युवा पुस्ता समसामयिक राजनीतिक नेतृत्वप्रती अति नै घृणा गर्दछ । घृणाको मापन गर्न सकिने भए सबै भन्दा घृणित र तिरस्कृत अहिलेको राजनीतिक नेतृत्व उच्च स्थानमा आउने थियो । अहिलेको पुस्ता ‘रिजल्ट’ अर्थात परिणाममा विश्वाश गर्ने पुस्ता हो ‘डेलिबर’ गर्न सक्ने नेतृत्वमा विश्वाश गर्ने पुस्ता हो ।

पुनर्निर्माण कार्यमा नेपाली युवाको श्रम समुचित प्रयोग अहिलेको खाँचो हो । तर यसो भन्दै गर्दा अहिलेको नेतृत्वले युवाको मनोविज्ञानलाइ ख्याल गर्ने कि नगर्ने त्यो मुख्य कुरा हो । युवा पुस्ताको मनोविज्ञानले के भन्छ भने ”विगत दशकौं वर्ष देखि नेपाली राजनीतिमा हालीमुहाली गर्दै आएको अहिलेको नेतृत्व कुनै एक आपसमा झगडा गर्ने बाहेक परिणाम दिने काम गर्न सकेकै छैन” देश बनाउँछु भन्नेले देशको संविधान त बनाउन सकेनन भने अब यो भुकम्पको विपत्ती पार लगाउँछन् भनेर कसरी पत्याउने ?’

‘ यी र यस्तै कुराहरुका कारण युवाहरुको नेतृत्वप्रती वितृष्णा जागेको सत्य हो । सरकार र यसका संयन्त्रको नालायकी पनका कारण यो युवा पुस्ता विक्षिप्त पनि छ । तर पनि यहि युवा पुस्ताबाट देशमा हरेक कुरा सम्भव पनि सम्भव छ । पुनर्निमाणको खाका अहिलेको नेतृत्वबाट भने सम्भव छैन । न त त्यो प्रधानमन्त्रीको मातहतमा सम्भव छ नत गृह मन्त्रालयमा नै । यसका लागि आवश्यक छ त छुट्टै संयन्त्रको । तत्काल कार्य गरेर छुट्टै कानुन भने बनाउनु पर्छ । छुट्टै संयन्त्र बनाउन अहिलेको कुनै नीति र कानुनले छेक्छ भने त्यसलाई तत्काल निलम्बन गरेर भए पनि कार्य अगाडी बढाउनु अहिलेको आवश्यकता हो ।

छुट्टै संयन्त्रमा युवा नेता देखि ,इन्जिनियर, भूगोलविध, विज्ञ, सेना, प्रहरी, शशस्त्र प्रहरी, डाक्टर, पाइलट, निजामती का दक्ष कर्मचारी, विदेशमा अध्ययन गरेका एक्स्पार्ट नेपाली, श्रमीक देखि लिएर विधार्थी सम्म अनि घर गृहस्थी समाल्ने गृहिणीसम्म सम्मिलित एउटा संयन्त्र बनोस जसले नेपाल पुनर्निर्माणको खाका कोर्न सक्षम होस् तव मात्र युवा पुस्ताको मन फर्कने छ र विश्वाश जाग्नेछ । तत्पश्चात गाउँ गाउँमा रहेको इमान्दार एवं परिश्रमी नेपाली श्रमको उचित प्रयोगको लागि  यो संयन्त्र मातहतमा ”कामको लागि खाधान्न” कार्यक्रम भुकम्प ग्रस्त जिल्लाहरुमा लागु गरेर नेपाली श्रमले नै क्षत विक्षत गाउँ बस्तीहरुलाई नयाँ जीवन दिन सक्ने छ ।

माथि नै उल्लेख भैसक्यो परिवारलाई दुइ छाक मिठो मसिनो खान पुर्याउनको लागि नेपाली युवा खाडीमा श्रम पसिना बगाउन तयार हुन्छ भने उसको परिवारलाई खान पुग्ने मात्र बनाइ देउ र केहि ज्याला देउ नेपाली युवा देशको लागि मरिमेट्न तयार छन् । ”कामको लागि खाधान्न” कार्यक्रमले श्रममा खटिने सबै श्रमिकका परिवारको दुइ छाक खान र लाउन पाउने कुराको ग्यारेन्टी गर्न सक्नु पर्छ । नेपाली श्रम उपभोग गर्ने यो नै अहिलेको उत्तम विकल्प हो ।

क्षती हेर्दा पुनर्निर्माणमा करीब दश खर्ब लाग्ने अनुमान गरीए पनि यकिन तथ्यांक आउन बाँकी नै छ । पुनर्निर्माण गर्ने नै हो भने र विश्वाशिलो आधार भयो भने यो सबै खर्च नेपाल भित्रै उठाउन सकिन्छ । नेपालको बजेट करिब साढे ६ खर्ब हो । पुनर्निर्माणमा पन्चवर्षीय योजना बनाएर काम गर्न सकियो भने सबै खर्च नेपालबाट नै उठ्न सम्भव छ । विकास खर्च सबै कटौती गर्ने, अत्यावश्यक बाहेक सरकारी तवरबाट विदेश भ्रमण नगर्ने, प्रशाशनिक खर्चमा कटौती गर्ने, आन्तरीक ऋण उठाउने ।

डेढ खर्ब वार्षिक विकास बजेट कटौती गर्दा मात्र पनि पांच वर्षमा साढे सात खर्ब जम्मा हुन्छ । सामान्यतया साढे छ खर्ब बार्षिक बजेट भएको देशलाई करिब ढाई खर्ब आन्तरीक ऋण उठाउन गारो हुँदैन । यो वर्ष खर्च हुन नसकेको एक खर्ब रुपैंयाले पुनर्निर्माण कोष खडा गरी तत्कालै काम गर्न शुरु गर्ने हो भने पांच वर्षमा सबै पुनर्निर्माण सम्भव छ । तर पुनर्निर्मित सबै संरचना हरु भुकम्प प्रतिरोधात्मक हुनु पर्छ । ढाँटने र छल्ने प्राविधिक र ठेकेदारलाई तुरुन्तै कारवाही गरी जेल हाल्नु पर्छ ।

त्यसकारण यो पुनर्निर्माण संगै नियम कानुनमा पनि कडाइ लैजानु पर्ने पनि हुन्छ । कालो बजारी गर्ने, कर छल्ने, कर नतिर्ने आदि कसैले पनि छुट पाउनु हुँदैन । यो योजनासंगै नेपालले आगामी विकासको बाटो तय गर्ने खाका पनि तयार हुँदै जान्छ र सबैमा चेतनाको जागृत हुन्छ । नेपाली श्रमले नै धरहारालाई दोहोरो लिफ्ट सहितको १८ तले आधुनिक बनाऔं ताकी आन्तरीक र बाह्य पर्यटकको आकर्षक बन्न सकोस त्यसकारण धरहारा पनि नेपाली श्रमबाटै ठड्याऔं, भत्किएका संरचनाहरु पनि नेपाली श्रमबाट बनाऔं, क्षत-विक्षत गाउँ बस्तीहरु पनि नेपाली श्रमबाट नै बनाऔं ।