पोखरेली पप गीतका लागि वर्ष २०७१, ‘वर्ष २०७२ मा सक्रियता बढ्ने’


राजाराम पौडेल/ पोखरा ।
केहि आशा जगाएपनि पोखरेली पप गीतका लागि वर्ष २०७१ सुखद हुन सकेन । कारण यो वर्षमा पोखरेली गायक तथा व्याण्डको चर्चा र सक्रियता सन्तोषजनक देखिएन । ६० को दशकको शुरुवातदेखि नै पातलिदै गएको एल्बम अनि गीत रेकर्डिङको संख्या बढ्न सकेन । फाट्टफुट्ट रुपमा केहि गायक तथा व्याण्डले केहि गीत रेर्कड गर्दै नगरेका भने होइनन् । यस्ले कुनै बेला नेपाली पप गीतको राजधानी शहर भन्ने परिचय बनाएको पोखराको पप गीतको माओल पुनः जाग्ने आशा भने पक्कै बढेको छ । यो वर्ष राष्ट्रिय देखि स्थानिय कलाकारले विभिन्न कार्यक्रमको माध्यबाट प्रस्तुती राख्दै वर्षभरिनै पोखराको साँगीतिक माहोललाई पुर्नताजगी गर्ने प्रयास भने गरे ।
डिमोर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्व्ज श्रेष्ठका लागी भने ०७१ साल राम्रो रह्यो । नयाँ एल्बम ननिकाले पनि वर्षभरिनै स्वदेश तथा विदेशका साँगीतिक कार्यक्रममा उनी व्यस्त बने । ट्राफिक सचेतना मुलक गीत मार्फत समाजमा सन्देश फैलाउने कार्यमा उतिकै सक्रिय बनेका उनले पोखराको खुल्ला सडकमा एकल कन्सर्ट गर्न भ्याए । ‘वर्ष २०७१ समग्रमा राम्रो रह्यो, अबको वर्ष दर्शक श्रोतामाझ नयाँ कोशेली पस्कनेछु’ श्रेष्ठले सुनाए ।
गायक विनोद बानियाँको वर्ष २०७१ मा नयाँ एल्बम निकाल्ने योजना थियो । एल्बम तयार भई टेलिभिजनको माध्यमबाट एल्बमको प्रोमो सार्वजनिक भएपनि विविध कारणले एल्बम रिलिज हुने समय २०७२ लाई सरेको छ । वर्ष २०७१ मा केहि साँग्िितक कार्यक्रममा सहभागीता जनाएका उनले संगीतपारखीहरुको लागि आफैले मेलोडि क्याफे एण्ड गजल रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । ‘यो वर्ष विभिन्न ठाउँमा कन्र्सट गर्ने अवसर जुट्यो, तर तुलनात्मक रुपमा पोखराको पप संगीतको अवस्था राम्रो भएन’ वानीयाले भने ।
देउराली समुहका मुख्य भोकलिष्ट शान्तराज बर्जाचार्यले आफ्नो समुहको सक्रियता २०७१ सालमा बढेको बताए । वर्षभरिमा कुनैपनि एल्बम बजारमा नल्याएपनि साँगीतिक कार्यक्रमको माध्यमबाट सक्रियता बढाएको उनले जनाए । पोखरामा मात्रै ४ वटा साँगीतिक कार्यक्रममा सहभागिता जनाएको समुहले लेखनाथ, दुर्लङ, खैरनीटार र स्याङ्गजामा पुगेर आफ्नो प्रस्तुती राख्यो । केहि कुरा भन्नु थियो र रुपै तिम्रो देखेर बोलका दुई गीतको म्युजिक भिडियो यो वर्ष नै निर्माण गरेको यस समुहले वर्ष २०७२ मा समेत सक्रियता बढाउने बर्जाचार्यले सुनाए ।
केहि समय विदेशिएर पोखरेली पप संगीतको क्षेत्रमा क्रियाशिल हुन नसकेका कन्दरा समुहका मुख्य भोकलिष्ट विवेक श्रेष्ठको सक्रियता वर्ष २०७१ का पछिल्ला महिनामा देखिन पुग्यो । वर्ष २०७२ मा नयाँ एल्बम बजारमा पस्कने तयारीमा रहेको विवेकले जनाएका छन् । कन्दरा शैलीकै गीतलाई नयाँ टेस्टका साथ पस्कदै व्याण्डको पुनरआगमन हुने उनले जनाएका बताए । अबको बाँकी समय नेपाली साँगीतिक क्षेत्रमानै सर्मपित गर्ने योजना बनाएको उनले खुलाए ।
२०६८ मा ‘प्रयास’ बोलको गीत रेकर्ड गरिसकेको प्रयास व्याण्डले वर्ष २०७२ मा भिडियो सहित नयाँ गीत दर्शक श्रोता समक्ष पस्कने योजना मुख्य भोकलिष्ट आशिषदास दियालीले जानकारी दिएका छन् । वर्ष २०७१ मा केहि कार्यक्रममा सक्रियता देखाएको यो समुहको सक्रियता यो वर्ष झनै बढ्ने उनले बताए ।
सोलो एल्बम ‘देश्ना’ वर्ष २०७१ मा श्रोता दर्शकमाझ पस्कने सोचाई बनाएका पोखरेली गायक दिनेश सुनारको उक्त सोच पुरा हुन भने सकेन । एल्बमको सबै तयारी पुरा गरेका उनले वर्ष २०७२ मा मात्र बजारमा ल्याउने बताएका छन् । ‘एल्बममा समावेश सबै गीतको भिडियो बनाइसके अब भिसिडि एल्बम बजारमा ल्याउँछु’ सुनारले बताए ।
वर्ष २०७१ मा नयाँ एल्बम ‘कन्टिन्युटि–३’ दर्शक श्रोतामाझ पस्केका गायक आनन्द बज्राचार्य विभिन्न कार्यक्रममा व्यस्त समेत थिए । पोखरेली समुह देउरालीमा बसेर लामो सयम साँगीतिक यात्रा अगाडि बढाएका उनले वर्ष २०७१ मा नयाँ व्याकअप व्याण्ड स्थापना गरे । कार्यक्रममा सक्रियता दिन व्याण्डको स्थापना गरेको बताउने उनले वर्ष २०७२ मा आफुसँगै व्याकअप व्याण्डलाई पनि क्रियाशिल बनाइ पोखराको साँगीतिक माहोल पुनः स्थापना गर्ने बताउँछन् ।
पोखरेली गायक गंगाधर पराजुली ‘जिडिप’ले वर्ष २०७१ मा ने साँगीतिक क्षेत्रमा लागेको बाह्र वर्षपछि पहिलो एल्बम ‘शुभारम्भ’ दर्शक श्रोतामाझ पस्केका थिए । हाल काठमाण्डौँमा म्युजिक टिचरको रुपमा काम गर्दै साँगीतिक यात्रा अगाडी बढाइरहेका उनी वर्ष २०७२ मा अझै सक्रिय भएर लाग्ने बताउँछन् ।
पोखरामा स्थापना भएका व्याण्ड मध्यमा गीत रेकडिङ गर्ने तथा एल्बम बजारमा ल्याउने पहिलो व्याण्ड योङ टाइगर थियो । यो व्याण्डले एक्लो जिवन नामक एल्बम बजारमा ल्यायो सुरुमा गीत रेकडिङ गर्ने पोखरेली गायक यसै व्याण्डका गायक पृथ्वीमान गुरुङ हुन् । यसपछि क्रमिकरुपमा गीत रेकर्डिङ र एल्बम बजारमा एकपछि अर्को गर्दै आउन थालेका थिए । यो समुहले पनि पछिल्लो समयमा एल्बम बजारमा ल्याउन सकेको छ्रैन । पिस ह्यान्कि व्याण्डले पनि निरन्तरता दिन सकेको छैन, सांगीतिक कार्यक्रमको माध्यमबाट निरन्तरता दिएपनि नेपथ्य व्याण्ड ले पनि यो वर्ष एल्बम बजारमा निकाल्न सकेन । लोक लयमा आधारीत पप गीत गाएर स्थापीत बनेको परिवेश समूह, पछ्यौरी व्याण्ड, लेकाली समूह, ब्रोसिस व्याण्ड, कन्दरा समूह, मध्यान्न समुह, नमस्ते व्याण्ड, भ्यागवोन व्याण्ड, मोक्ष व्याण्ड, तन्त्र व्याण्ड, पखेरी व्याण्ड, द एज व्याण्ड, बफिन्स–९८ समुह, मंगोलस व्याण्ड, द संस्कार व्याण्ड, गुर्मीङ रोज समुह, मनसाय व्याण्ड, पञ्चासे समुह, रियाज व्याण्ड, इसाबेला व्याण्ड, उद्वेग व्याण्ड, मारुनी समुह, वाइलफाइल व्याण्ड, माइलस्टोन व्याण्ड, द वन्डेड हर्ट, एक्स क्षितिज, क्षितिज, त्रिवेणी, ०६१, एजु व्याण्ड, जि नाइन लगाएतका कुनैपनि व्याण्डले यो वर्ष एल्बम निकाल्न सकेका छैनन् । श्यामशुङ तामङ, धर्मेन्द्र सेवाङ, उज्वल भण्डारी, सोवित बस्याल, सुन्दर थापा, नरजंग गुरुङ्ग, अनिस के.सी., मनोज गुरुङ्ग, विनित जोजीजु, इश्वर दियाली, अरविन तुलाचन, अपार गुरुङ्ग, सर्वज्ञमान शाक्य, सन्तोष कोन्मे, दिपराज थापा, सागर शाह, विवेक के.सी., सिडि विजय अधिकारी लगायतका सोलो गायक गायीकाले पनि एकादुई गीत रेर्कड गराए पनि एल्बम बजारमा ल्याउन भने सकेनन् । अबको वर्ष नयाँ एल्बम र गीत दर्शक श्रोतामाझ पस्कने योजनामा आफुहरु रहेको अधिकांश व्याण्ड तथा सोलो गायकले जनाएका छन् ।