शेर्पा संघ, यूरोपले भूकम्प पीडितलाई सहयोग गर्ने


शेर्पा संघ, यूरोपको आकस्मिक अनलाइन बैठक आज मिति २९ अप्रिल २०१५ वुधवारको दिन संघका अध्यक्ष श्री हेम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको पूर्वार्द्धमा गत २५ अप्रिल २०१५ शनिवार नेपालमा गएको ७.९ रेक्टर स्केलको विनाशकारी महाभूकम्पमा परी संघका कोषाध्यक्ष श्री ङिमा ओङछु शेर्पाको पुज्यनीय पिता आङ दावा शेर्पाको दु:खद निधन भएको र सोही भूकम्पबाट दिवंगत हुनुहुने सम्पूर्णको चीर आत्मा शान्तिको लागि कामना गर्दै एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको थियो । त्यसै गरी उक्त भयावह प्रकोपमा परेर घाइते हुनु भएका सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको थियो ।

उक्त बैठकले महाविनाशकारी भूकम्पबाट वेपत्ता भएकाहरुको शीघ्र उद्धार, घाइतेहरुलाई शीघ्र उपचार र पीडितहरुलाई तत्काल राहत प्रदान गर्ने उद्देश्यले यूरोपका सबै देशका किदुगहरुको अध्यक्षहरु र किदुग गठन नभएका देशहरुको हकमा शेर्पा संघ, यूरोपमा संयोजकको रुपमा प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सदस्यहरु संयोजक रहेको “शेर्पा संघ, यूरोप भूकम्प पीडित सहयोग समिति-२०७२” गठन गरेको छ ।

जसको लागि नेपाली तथा विदेशी समुदाय माझ गई तत्काल राहत संकलन गरी नेपाल शेर्पा संघ मार्फत वितरण गर्ने निर्णय गरेको छ । यही ५ मे २०१५ मंगलवारसम्ममा जे-जति रकम संकलन हुन्छ, त्यसलाई अपडेट गरी ६ मे २०१५ वुधवारको दिन “नेपाल शेर्पा संघ, भूकम्प पीडित सहयोग समिति २०७२” को Century Commercial Bank Ltd. बौद्ध शाखाको खाता नं. 0180000159 CA, Swift Code: CCBNNPKA मा जम्मा गर्ने निर्णय सो बैठकले गरेको छ ।

त्यस्तै गरी शेर्पा संघ, यूरोपको आयोजना तथा शेर्पा किदुग, पोर्तुगलको व्यवस्थापनमा पोर्तुगलमा आगामी ३१ मे २०१५ आइतवारको दिन आयोजना हुन गैरहेको “सगरमाथा दिवस – २०१५ (Everest Day – 2015)” बाट संकलन हुने रकमलाई पनि भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय आजको बैठकले गरेको छ ।
बैठकको संचालन संघका महासचिव श्री कर्मा छिरिङ शेर्पाले गर्नु भएको थियो।