एनआरएनले काठमाण्डौं बाहिरका ७ जिल्लाहरुमा राहत बितरण गर्ने


काठमाडौं / हजारौंको ज्यान जाने गरी आएको बिनाकारी भूकम्पबाट मातृभूमी राष्ट्रिय शोकमा रहेका बेला गैरआवासीय नेपालीहरुले सहयोगका लागि अग्रसरता देखाएका छन् ।

एनआरएनले भूकम्पबाट सवैभन्दा ठूलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कूल ७ वटा जिल्लाका भूकम्प पिडीतलाई राहत प्रदान गर्ने तयारी गर्दै छ ।

गैरआवासीय नेपाली संघको आह्वानमा संसारभर रहेका गैरआवासीय नेपालीहरुले करिव १० करोड रुपैयाँ संकलन गर्ने तयारी गरिरहेका छन् । जसबाट उनीहरुले राहत नपुगेका दुर्गम बस्तीहरुमा पुगेर कम्तीमा १० हजार परिवारलाई न्यूनतम राहत प्रदान गर्ने तयारी गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा मंगलबार काठमाण्डौंमा बसेको गैरआवासीय नेपाली संघ भूकम्प पिडीत राहत समितिको वैठकले राहत रकम र जिल्ला निर्धारण गरेको हो ।

यसैगरी गैरआवासीय नेपाली संघले झण्डै एक हजार स्वास्थ्यकर्मीलाई स्वयंसवेकका रुपमा परिचालन गरी स्वास्थ्य शिविर खडा गर्ने छ । त्यसका लागि बिभिन्न देशमा कार्यरत गैरआवासीय नेपालीहरु नेपाल आउनेक्रम सुरु भइसकेको छ ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले काठमाण्डौमा अन्य संस्थाको पहुँच पुगेको हुनाले धेरै प्रभावित काठमाण्डौ बाहिरका दुर्गम जिल्लामा राहत केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए । सोही आधारमा वैठकले तत्कालका लागि ७ जिल्लामा राहत केन्द्रीत गर्ने निर्णय गरेको छ ।

वैठकले सातवटै जिल्ल्ाामा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरण गर्ने गाविसको छनौट गरी राहत वितरण गर्ने तयारी गरिरहेको छ ।