भूकम्प पिडित सहयोगार्थ युरोपमा एनआरएनए जुट्दै


वसन्त रानाभाट
बार्सिलोना/
बिनासकारी भूकम्पबाट पिडीत नेपाली दाजुभाईको सहयोगका लागि गैरआवासीय नेपाली संघले युरोपका बिभिन्न मुलुकहरुमा रकम संकलन कार्य शुरु गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ केन्द्रीय सचिवालयको निर्णय अनुसार राष्ट्रिय समन्वय परिषद्हरुमा रकम संकलन कार्यमा सहभागी हुन निर्देशन दिए पछि आकस्मिक बैठकहरु बोलाएर संकलन कार्य शुरु गर्न लागेको हो।

युरोप संयोजक अर्जुन कुमार श्रेष्ठका अनुसार आईतबार बेल्जियम,बेलायत,स्पेन,स्बिजरल्याण्ड,डेनमार्क,पोर्चुगल,ईटली,साईप्रस,फ्रान्स,जर्मनी लगायत देशहरुमा राष्ट्रिय समन्वय परिषद्ले राखेको आकस्मिक वैठक पछि रकम संकलन कार्य शुरु हुने भएको छ।

संयोजक श्रेष्ठले नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै भने,” यो देशमा आएको भयानक विपत्ति हो, जे जति जहाबाट सहयोग गर्न सकिन्छ सबैलाई सहयोग गर्न अनुरोध गर्दछु।” उनले २ लाख २२ हजार २ सय २२ रुपैयाँको सहयोग घोषणा समेत गरेका छन्।

यसैबीच एनआरएनए बेल्जियमले आफ्नो राहत कोषबाट बिपतको घडीमा तत्कालको  राहतको लागि भन्दै १० लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको छ।यस्तै एनआरएनए फ्रान्सले पनि मातृभूमी र विपदमा पर्नु हुने सम्पूर्ण नेपाली दाजूभाईहरुलाई सहयोग गर्नु सबैभन्दा ठुलो कर्तब्य भन्दै ३ लाख रुपैयाँ राहतको घोषणा गरेको छ।

स्पेनमा पनि रकम संकलन शुरु

सन् २००८ देखि बस्दै आएका  कृष्ण गुरुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहयोग गरेका छन्। भक्तपुर नगरपालिका-१५ गठ्ठाघर स्थायी घर भएका गुरुङले रकम घोषणा गरेका हुन्।

11151017_362222090631021_1194773935599390706_n

दिनभर काम गरीरहदा समाचार हेरिरहे मन थाम्न सकिन,अहिले देश दुखिरहेको छ सबैको सहयोगको खाचो छ गुरुङले भने,”मैले २ महिना दुख गरे भने त्यति नै रकम फेरि पनि जम्मा गर्न सक्छु तर यस्तो बेला पनि देशलाई सहयोग गरिन भने कहिँले गर्ने त ?” निकै भाबुक हुदै बताए।

यसैबीच नेपाली जनसम्पर्क समिति स्पेनले समितिका कोषाध्यक्ष राम सापकोटाको संयोजकत्वमा राहत समिति गठन गर्दै रकम संकलन कार्य शुरु गरिसकेको छ। अहिले सम्म करिब ६ सय युरो समितिले संकलन गरि सकेको छ।

यस्तै प्रबासी नेपाली मन्च स्पेनले पनि राहत संकलन बारे छलफल गर्ने भन्दै आकस्मिक बैठक राखेको छ। नेपाली जनप्रगतिशील मन्च स्पेनले पनि भूकम्प पिडितलाई आपतकालिन राहत संकलनमा जुट्न स्पेनबासि नेपाली समुदायलाई अपिल गरेको छ।