बेल्जियममा ‘छोरी’ को नामबाट १० लाखको अक्षयकोष


वेल्जियम/ आफ्नी छोरी प्रकृति रेग्मीको १८ औँ जन्मोत्सवमा अवसरमा बेल्जियममा रहेका नेपाली कृष्णप्रसाद रेग्मीले १० लाख रुपैयाँको ‘छोरी’ अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोषलाई एक करोड रुपैयाँसम्म पु¥याइने र यसबाट चितवनका पहाडी गाविसका ‘छोरी’हरुको शिक्षा र स्वास्थ्यमा रकम खर्च गरिने रेग्मीको योजना छ ।

कविलास, काउले, कोराक, चण्डीभञ्ज्याङ, दाहाखानी र सिद्धिका किशोरीहरुको शिक्षा र स्वास्थ्यका लागि स्थापना गरिएको यो अक्षयकोषले ‘छोरी’हरुलाई वृत्तिविकास र स्वालम्वन बनाउन मद्दत पु¥याउने रेग्मीले बताए ।

‘सामान्यतया युरोपमा छोरा छोरी १८ वर्ष पुगेपछि वालिग र स्वतन्त्र हुन्छन् । यसैले उनीहरुको नाममा केही सामाजिक अभियान सञ्चालन गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।’–रेग्मीले भने । १८ वर्ष उमेर पुगेपछि उनीहरु कानूनी रुपमा सवल हुन्छन् र यहाँ यो उमेरलाई पर्वकै रुपमा मनाइने चलन रहेको पनि उनले जानकारी दिए । उनले सो अवसरलाइ रचनात्मक कार्यमा परिणत गरेको वताए ।

कोषको नाम नै ‘छोरी’ भएकाले यसलाई चितवनका विभिन्न सामाजिक अभियन्ताहरुको सहकार्यमा गैरसरकारी संस्थाको रुप दिँदै चितवन र बेल्जियम दुबै ठाउँमा दर्ता गरिने उनले जानकारी दिए ।

11178313_1416378888679807_4169391793420996565_n

सो अक्षयकोष चितवन जिल्लाको जुगेडीमा केन्द्रीत बनाई पहाडी ईलाकाका छोरीहरुको शिक्षा र स्वास्थ्यमा परिचालन गरिने लक्ष लिईएको छ । रेग्मीले स्थापना गर्ने सो अक्षयकोषको संरक्षकमा आफ्ना पिता धर्मानन्द रेग्मी र आमा खीनाकुमारी रेग्मी संरक्षक रहने जानकारी गराइएको छ ।

रेग्मी सामान्य किसान परिवारका व्यक्ति हुन् र अहिले उनी बेल्जियमसम्मको राजनीतिमा क्रियाशिल छन् । बेल्जियमको ठूलो राजनीतिक दल एनभिएको क्षेत्रीय स्तरको नेता समेत रहेका रेग्मीको दल अहिले बेल्जियमको सत्तामा समेत छ ।