अन्‍नपूर्ण चढेर फर्केका दुई आरोही बेपत्ता, १२ जनाको जीवितै उद्धार


पोखरा/ अन्‍नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्कने क्रममा चिप्लिएर दुईजना आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरी फर्कने क्रममा फिनल्याण्डका ३६ वर्षीय सिक्सा सामुली र संखवासभाको मकालु गाविसका ३६ वर्षीय पेम्बा शेर्पा बेपत्ता भएको सिमा प्रहरी म्याग्दीले जानकरी दिएको छ ।

उनीहरु आरोहण गरेर सात हजार मिटरसम्म झर्दै गर्दा हिमपात भएपछि चिप्लिएको घटनास्थल पुगेका प्रहरीले जानकारी दिएको छ । बुधबार नै हराएको खबर आए पनि खोजी कार्य हुन सकेको थिएन । शनिबार हेलिकोप्टरबाट घटनास्थलमा खोजी गर्दा फेला पार्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

अन्नपूर्ण हिमाल आरोहणका लागि १८ जनाको टोली त्यसतर्फ गएको थियो । आरोहणका क्रममा प्रतिकुल मौसमले आधार शिविरमै अलपत्र १२ जनालाई शनिबार हेलिकोप्टरबाट उद्धार गरी नारच्याङ ल्याइएको छ । उद्धार गरिएकामध्ये ६ जना विदेशी र ६ जना नेपाली आरोही छन् ।

दुई नेपाली र दुई विदेशीलाई बेपत्ताको खोजी गर्न आधार शिविरमा छोडिएको छ । ‘उद्धार गरी नारच्याङ ल्याइएकाहरु सबै आरोहण दलका सदस्य हुन् । उनीहरु कोही पोखरा फर्किसके भने कोही फर्कने क्रममा छन् ।