लण्डनमा पत्रकार कल्याणकारी कोषको लागी च्यारिटी हुदै


लन्डन /

गैरआवासीय नेपाली संघ (एनआरएन) यूके र नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा आगामी मे ३१ तारिख आइतवार लन्डनमा च्यारिटी कार्यक्रम हुने भएको छ । पत्रकार महासंघ यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारको क्षमता अभिवृद्धि तथा पत्रकार कल्याणकारी कोष स्थापनार्थ च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन ।

लण्डनको भेन्यू फाईभ पार्टी हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन एनआरएन युके कार्यसमिती सदस्य तथा पत्रकार फडिन्द्र भट्टराईले गर्ने भएका छन ।
एनआरएन यूके अध्यक्ष महेन्द्र कंडेलका अनुसार एनआरएन यूकेको यसअघि बसेको बैठकको निर्णयअनुसार कार्यक्रम तय गरिएको हो ।

कँडेलले गैरआवासीय नेपाली संघले विभिन्न संघ-संस्थासँग सहकार्य गरेको स्मरण गर्दै सो च्यारिटी कार्यक्रमले नेपाली पत्रकारिता जगतलाई टेवा पुगोस भन्ने हेतुले कार्यक्रम गर्न लागिएको बताए ।

एनआरएन यूकेको बैठकले कार्यसमिति सदस्य फडिन्द्र भट्टराईको संयोजकत्वमा सल्लाहकार बाचस्पति रेग्मीसमेत रहेको तयारी समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघ यूके शाखाको सहकार्यमा सो समितिलाई बिस्तार गरिएको संयोजक भट्टराईले जानकारी दिए । बिस्तारित समितिमा एनआरएनबाट उपाध्यक्ष कृष्ण तिमल्सिना र सचिव दाशु पाण्डे तथा पत्रकार महासंघ बाट नरेश खपांगी मगर, धर्मराज अधिकारी तथा देवी गौतम रहेका छन ।

समितिको सल्लाहकारमा गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्षहरु महन्त श्रेष्ठ, डमर घले, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, पूर्व महासचिव रामशरण सिम्खडा, पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नवीन पोखरेल र वरिष्ठ पत्रकार भगीरथ योगी छन ।

पत्रकार महासंघ यूके शाखाका अध्यक्ष शर्माले गैरआवासीय नेपाली संघ यूकेको सहकार्यमा हुन लागेको सो च्यारिटी कार्यक्रमलाई सहयोग गर्न बेलायतबासी नेपालीलाई आग्रह गरेका छन । शाखाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लन्डनमा च्यारिटी कार्यक्रम गर्ने निर्णय यसअघि नै गरिसको थियो ।

गैरआवासीय नेपाली संघ यूके र शाखाको सक्रियतामा गरिएको च्यारिटी कार्यक्रमबाट करिब १६ लाख रुपैयाँ जम्मा भएको थियो । सो रकमबाट एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ ।