पोखरामा प्याराग्लाइडिङ ठोक्किंदा चालकसहित दुई घाइते


– सागर राज तिमिल्सिना

पोखरा/पोखरामा प्याराग्लाइडिङ कम्पनी दुर्घटना हुदा एक विदेशी सहित दुई जना घाइते भएका छन् । सोमबार कास्कीको तोरीपानी र सराङकोटबाट उडेका दुईवटा प्याराग्लाइडिङ खपौंदी माथिको डाँडामा आपासमा ठोकिदा फ्लाइ नेपाल प्याराग्लाईडिङका संचालक तथा प्यारापाइलट चेतबहादुर न्यौपाने सख्त घाइते भएका छन् ।

उनीसगै रहेका चिनिया पर्यटक २५ वर्षीय जोङ हुइ लिन घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पालले बताए । पाइलट न्यौपानेलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौ स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

उनको हात, खुट्टा र ढाड भाच्चिएको र शरिर भित्र पनि रक्तश्राव भइरहेको चिकित्सकलाई उद्धृत गर्दै नेपाल हवाई खेलकूद संस्था उपाध्यक्ष सोवित बानियाले जानकारी दिए ।

घाइते चिनिया पर्यटकको हात भाच्चिएको र अहिले फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिहान ११ बजेतिर उक्त दुर्घटना भएको थियो । तोरीपानीबाट उडेको हनुमान प्याराग्लाइडिङको प्यारा र सराङकोटबाट उडेको प्यारा अवतरण गर्न तल झर्नेक्रममा ठोक्क्एिका थिए ।

दुवै प्यारामा चालकसँगै यात्रु पनि थिए । ठोक्किएलगत्तै हनुमान प्याराग्लाडिङको ग्लाइडर खुलै रहेका कारण आकाशमै उडेको थियो । तर फ्लाइ नेपालको ग्लाइडर बन्द भएर नखुलेपछि चालक र यात्रु भुईंमा पछारिएका थिए ।