भलाइ कोषका नाममा रकम उठाउँदै निजी कम्पनि, कागजात नियन्त्रणमा


– भरत कोइराला

पोखरा/भलाइ कोषका लागि भन्दै पोखरा काठमाडौं चल्ने माइक्रोबसबाट दैनिक रकम उठाउने कम्पनिको काउण्टर र मुख्य कार्यालयमा बिहीबार जिल्ला अनुगमन समितिले छापा मारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम नेतृत्वको टोलीले बुढीबजारस्थित काउण्टर र नयाँ बजारमा रहेको कार्यालयबाट नगदी रसिद र रेकर्ड फाइल नियन्त्रणमा लिएको हो ।

पोखरा काठमाडौं भलाइ प्रालिको नाममा पोखराबाट काठमाडौं छुट्नै सबै माइक्रोबसबाट दैनिक एक सय रुपैयाँ उठाउने गरिएको छ । उक्त रकम कम्पनिकै साझेदारले बाँढ्ने गरेका छन् । यातायात व्यवसायी समितिले भलाइ कोषका लागि रकम उठाउने गरिएको भए पनि निजी कम्पनिले यसरी खुलेआम रकम असुलेको थाहा पाएपछि अनुगमन थालिएको सप्रजिअ गौतमले बताए ।

पोखराको नयाँ बजारमा माइक्रो बसपार्क संचालन र व्यवस्थापन खर्च जुटाउन कम्पनिमार्फत् रकम संकलन गरिएको कम्पनिका सचिव अशोक चौधरीले बताए । कम्पनि रजिस्टारको कार्यालयमा दर्ता गरी आन्तरिक राजस्व कार्यालय पोखराबाट पान नम्बरसमेत लिएर रकम उठाइएको हो ।

क्षेत्रीय प्रशासन कार्यालयले २४ घण्टाभित्र अनुगमन गरी यथार्थ पत्ता लगाउन निर्देशन दिएपछि टोली खटिएको हो । टोलीमा उपभोक्ता मञ्च कास्कीका सहसचिव मीलन तिवारी, यातायात व्यवस्था कार्यालय(सवारी) का वालकृष्ण भण्डारी, वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरीक्षक नमराज भट्टराई, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत र पत्रकार महासंघ कास्की सदस्य जमुना वर्षा शर्मा सहभागी थिए । अहिले प्राप्त सबै कागज नियन्त्रणमा लिएर मुचुल्का बनाइएको र आवश्यक अनुसन्धान गरिने सप्रजिअ गौतमले बताए ।