कङगोका २२ वर्षिय पर्यटक मान्टुडी घान्द्रुक नजिकै मृत भेटिए


पोखरा,/पदयात्रामा गएका एक विदेशी पर्यटक मृत अवस्थामा फेला परेका छन् । अन्नपुर्ण क्षेत्रको घान्द्रुक नजिकैे टाडापानी र खोप्राबीचको जंगलमा कङगोका नागरिक २२ वर्षिय मान्टुडी एनसिम्बा मृत अवस्थामा फेला परेका हुन् ।

बाहिरी रुपमा  चोटपटक नदेखिएपनि हाई अल्टिच्युडले मृत्यु भएको हुनसक्ने कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले बताए । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । रजौरेले मृतकको बारेमा सम्बन्धित देशको दुतावासलाई खबर गरेको बताए । टे«ेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल संघले मृतकको शवलाई घटनास्थलबाट जिप रिजर्भ गरेर अस्पतालसम्म ल्याउन सघाएको थियो ।

मृतकको शव पोखरासम्म ल्याउन मात्र करिब ४० हजार रुपैयाँ खर्च लागेको टानले बताएको छ । टानका अध्यक्ष रामचन्द्र शर्माले मान्टुडीले पर्यटन बोर्डबाट पदयात्री व्यवस्थापन सूचना प्रणालि (टिम्स) कार्ड लिएर पदत्रामा गएको बताए ।

‘पर्यटकको ज्यान गएको थाहा पाएपछि हामीले उद्धार गरेर पोखरा ल्याएर अस्पतालमा छाडेका छौ’ शर्माले भने । शर्माका अनुसार घास काट्न जंगल गएका महिलाहरुले मृतकलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।