नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वान नजिक


काठमाडौं /

नामिबियालाई पराजित गर्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वान नजिक पुगेको छ । बुधबार भएको आफ्नो चौथो खेलमा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो ।

जितसँगै नेपालको ६ अंक भएको छ । समान अंक जोडेको नामिबिया रन रेटका आधारमा शीर्ष स्थानमा छ । केन्यासँगको अन्तिम खेलको परिणाम अघि नै नेपाल डिभिजन टूमै रहने पक्का भएको छ । तर, डिभिजन वानमा पुग्न भने अन्तिम खेलमा जित आवश्यक छ ।

नामिबियाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य नेपालले कप्तान पारस खड्काको अर्धशतकको मदतमा ३७.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो । ओपनर नरेश बुढायरको ठाउँमा सागर पुन खेलेका थिए । तर, उनी नेपालको स्कोर ८ रन हुँदा व्यक्तिगत ७ रनमा आउट भए । दोस्रो विकेटका रुपमा अर्का ओपनर सुवास खकुरेल व्यत्तिगत ४ रनमा आउट हुँदा नेपालको स्कोर २७ रन थियो ।

तर, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हाले । उनीहरुले ५८ रनको साझेदारी परे । २४.३ ओभरमा नेपालको स्कोर ८५ रन हुँदा नेपालले तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र ३१ रनमा गुमायो । पारसले विनोद भण्डारीसँग मिलेर नेपाललाई जिततर्फ डोर्‍याए । कप्तान पारस ६४ रनमा आउट भए, जुन नेपालको चौथो विकेट थियो ।

Nepal-Cric-team1

५६ बलको सामना गरेका पारसले ६ चौका र ३ छक्का हाने । उनले जारी प्रतियोगितामा एकै इनिङमा सर्वाधिक ६ छक्काको कीर्तिमान बनाएका छन् । यससँगै उनको प्रतियोगिताको सर्वाधिक तेस्रो रन १६५ भएको छ । यसअघि क्यानडाविरुद्धको खेलमा पनि उनले ७७ रन बनाएका थिए ।

पारस आउट भएपछि भने नेपालले १६ रन पुरा गर्न थप तीन विकेट गुमायो । विनोद भण्डारी १८, शरद भेसवाकर ७ र आरिफ शेख १ रनमा आउट भए । बसन्त रेग्मी ७ र सोमपाल कामी २ रनमा अविजित रहे । नेपाललाई १ रन चाहिएको अवस्थामा बसन्त रेग्मीले चौका हान्दै नेपाललाई जित दिलाए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिए ।