‘संविधानसभाबाट जनविद्रोह सुरु भयो- डा. बाबुराम भट्टराई


काठमाडौं ।

एकीकृत नेकपा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ४७ सालमा आर्यघाटमा सेलाएका भूतहरु फेरि जाग्न थालेको बताएका छन् । ति भूतहरुलाई मन्साउन संविधानसभाबाट जनविद्रोह सुरु गरेको उनले दाबी समेत गरे ।

‘हामी संविधान सभा चाहिन्छ भनेर नै यहाँसम्म आयौं,’ बिजुलीबजारमा मंगलबार बन्दकर्ताको सभालाई सम्वोधन गर्दै डा भट्टराईले प्रश्न गरे, ‘नक्कली धाईआमालाई संविधानसभाको माया हुन्छ ?’ उनले कांग्रेस-एमालेलाई नक्कली धाईआमाको संज्ञा दिएका हुन् ।

उनले पुराना गन्हाएका शक्तिहरु नयाँ कलेबरमा आउँछन् भने त्यस विरुद्ध आफूहरु संघर्ष गर्न तयार रहेको स्पष्ट पारे । थोत्रो गन्हाएको संसद नभइ रुपान्तरण सहितको नयाँ संसदीय व्यवस्था ल्याउन चाहेको भट्टराईले बताए ।

आफूहरुको एजेण्डाबारे सन्चारमाध्यमबाट सही सूचना नगएको उनले गुनासो गरे । सन्चारमाध्यमका कारण संविधानसभा एमाओवादीले नचाहेको भ्रम जनतामा फैलिएको उनको भनाइ थियो । उनले भने-‘मैले सोसल मिडिया हेरिरहन्छु, संविधानसभा नचाहने एमाओवादी हो भनेर सोसल मिडियाका साथीहरुलाई पनि भ्रम परिरहेको छ ।’

संविधानसभा र सडकबाट उठेको जनविद्रोहले सत्ता पक्षीय दलले जारी गर्न लागेको संविधान नस्वीकार्ने बताए ।

बबरमहलको सभालाई सम्वोधन गर्न एमाओवादी अध्यक्ष प्रचण्ड पनि जाने बताइए पनि भट्टराई मात्रै पुगेका थिए । उनले प्रचण्ड चाहेर पनि सभालाई सम्वोधन गर्न आउन नसकेको बताए । तर प्रचण्ड आउन नसक्नुको कारण भने भट्टराईले खुलाएनन् ।
-onlinekhabar