१०० मिनेट नाराबाजीपछि संविधानसभाको बैठक स्थगित


काठमाडौं /

एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले नाराबाजी गर्दै मंगलबार पनि संविधानसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबारको बैठक सुरु हुनासाथ माओवादी र मधेसी सभासदहरुले नाराबाजी सुरु गरेका थिए ।

पूर्वप्रधानमन्त्रीद्धय माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराई पनि अन्य सभासदहरुसँगै नाराबाजी गरिरहे । उनीहरुले सहमतिबाट संविधान जारी गर्नु पर्ने र प्रक्रियामा जान नहुने भन्दै नारा लगाएका थिए ।

विपक्षी डेढ घन्टाको नाराबाजीपछि मात्र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बैठक बुधबारसम्मका लागि स्थगित गरे । यसअघि उनी नाराबाजी सुनिरहे ।
डेढघन्टाको नाराबाजीपछि उनले विपक्षी सभासदहरुलाई आसन ग्रहण गर्न आग्रह गरे । तर, विपक्षी सभासदहरुले अस्वीकार गरेपछि बैठक स्थगित भयो ।

विपक्षी दलका सभासदहरुले नाराबाजी सुरु भएपछि मर्यादापालकले कांग्रेस, एमालेसहितकादलका सभासदहरुलाई हाते साङ्गो बनाएर सुरक्षा दिइएको थियो ।

यसअघि सोमबार मध्यरातमा प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्ने क्रमम विपक्षी दलका सभासदहरुले नाराबाजी गरेका थिए । लगतै सभाध्यक्षले बैठक स्थगित गरेपछि माओवादी सभासदहरु तोडफोडमा उत्रिएका थिए ।