दलहरुबीच सहमति भए माघ ८ मा संविधान जारी गर्न सकिन्छ: अध्यक्ष नेम्वाङ


काठमाडौँ/- सभाध्यक्ष सुवास नेम्वाङले दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन सके आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रमुख दलहरुले संविधानका आधारभूत विषयमा केही दिनभित्रै सहमति गरे कार्यतालिका छोट्टयाएर भएपनि संविधान जारी गर्न सकिने र जनताका सामु गरेको प्रतिबद्धता पूरा हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय खीस्ट्रियन महासङ्घले आयोजना गरेको प्रभु एशुको शुभजन्मोत्सव समारोहलाई सम्बोधन गर्दै सभाध्यक्ष नेम्वाङले दलहरुले आपसी विश्वासको वातावरण बनाउने हो भने कार्यतालिका संशोधन गरेर वा नियमावलीमा रहेका व्यवस्थाहरु समेत खारेज गर्न सकिने जानकारी दिनुभयो ।

प्रमुख दलका शीर्ष नेताले दुई घण्टामा सहमति हुन्छ भनेको लामो समय भइसकेको उल्लेख गर्दै उहाँले त्यो दुई घन्टा कहिले आउँछ भन्ने प्रतिप्रश्नसमेत गर्नुभयो ।

‘‘सहमतिका लागि दुई घण्टामात्रै काफी छ भनेको दलहरुले लामो समय भयो, त्यो समय कहिले आउँछ जनताले प्रतिक्षा गरिरहेका छन् । जनतालाई चित्तबुझ्दो जवाफ दिनुप¥यो । पूर्व प्रतिवद्धता पूरा गर्नुप¥यो’’–सभाध्यक्ष नेम्वाङले भन्नुभयो ।

दलहरुसँग सहमतिको लागि थोरै मात्र समय भएको उल्लेख गर्दै उहाँले मुलुक र जनतासामु गरेको प्रतिबद्धता कार्यान्वयन नभए जनताले दुःख पाउने र मुलुक अँध्यारो सुरुङमा फस्ने उहाँको कथन थियो ।

सभाध्यक्ष नेम्वाङले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको र धर्म निरपेक्षतासमेत घोषणा भइसकेकाले त्यसबाट पछाडि फर्कन नसक्ने बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा रामशरण महतले प्रधानमन्त्री सुशील कोइरालाको शुभकामनापत्र वाचन गरेर सुनाउनुभएको थियो । सो अवसरमा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधिले धार्मिक सहिष्णुता र समानताका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । रासस