नेपाली बीपीए ग्रुपले बेल्जियममा किने तीन तारे होटल


बेल्जियम / गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टसहितको समूहले बेल्जियमको अन्तवेर्पेनमा तीन तारे ‘नेशनल होटल’ खरिद गरेको छ । भट्टसँगै एनआरएन युरोप क्षेत्रीय संयोजक अर्जुन श्रेष्ठ र एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको लगानीमा रहेको बीपीए ग्रुपले सो होटल खरिद गरेको हो ।
संचालनमा रहेको अवस्थामा स्वामित्व लिएको जानकारी दिँदै श्रेष्ठले आगामी महिनादेखि मर्मत कार्य सुरू गरिने बताए । ‘फेब्रुअरी महिनाको अन्तिमसम्म होटलको रि लन्च गर्छाैं’ श्रेष्ठले भने ।
गत जुन महिनामा भवन भट्ट र बेल्जियमका ब्यवसायी अर्जुनकुमार श्रेष्ठले अन्त्वेर्पेंन नजिकै सेन्ट-निक्लासमा पहिलोपटक न्यु फ्ल्नांदर होटल संचालन थालेका थिए । संचालनमा ल्याएको ६ महिना पछाडि दोस्रो होटल संचालन गरेका छन् । न्यु फ्ल्नांदरन बेल्जियममा नेपालीहरुको लगानीमा संचालन भएको पहिलो तीन तारे होटल हो ।
बेल्जियमको राजधानी ब्रुसेल्सदेखि झन्डै ४५ किमीको दूरीमा अवस्थित आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र रहेको अन्त्वेर्पेंन सहरको केन्द्रमा रहेको यो होटल न्यु फ्लान्दर भन्दा दोब्बर ठूलो रहेको छ । यसमा एक सय ५० जनाको सभा/सेमिनारका लागि प्रविधियुक्त हल छ ।
भवन भट्ट जापानमा सफल ब्यबसायी मानिन्छन् । उनको टीबीआई ग्रुपले जापान एक सय भन्दा धेरै रेष्टुरेन्ट संचालन गरिरहेको छ ।
भट्टको टीबीआई ग्रुपले केही दिन पहिले मात्रै काभ्रेको पाँचखालस्थित ३३ बर्ष पुरानो धुलिखेल माउन्टेन रिसोर्टको ४० करोडमा स्वामित्व लिएको छ । भट्टको टीबीआई ग्रुपले जापान तथा युरोपमा पनि रेष्टुरेन्ट तथा होटल संचालन गरिरहेको छ । टीबीआईले नेपालमा युनाइटेड ब्रुअरीज, कारोबार राष्ट्रिय आर्थिक दैनिक, बीबी होलिडेज, लिबर्टी कलेज लगायत व्यवसाय सञ्चालनमा गरिरहेको छ ।
पछिल्लो समयमा युरोपमा नेपालीहरु होटल क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने र वर्तमान महासचिव कुमार पन्तको लगानीमा तीनवटा तारे होटल संचालन भइरहेका छन् ।
-onlinekhabar