संविधान निर्माण प्रक्रिया सम्बन्धमा काँग्रेस-एमाले छलफल


काठमाडौँ/सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले)ले संविधान लेखनको अवरुद्ध प्रक्रिया सम्बन्धमा आज छलफल गरेका छन् ।

केही दिनयता अवरुद्ध संविधान निर्माणको प्रक्रियालाई गति दिने सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा दलका नेताहरुबीच छलफल भएको काँग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठले जानकारी गराउनुभयो ।

बैठकमा काँग्रेसका तर्फबाट पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, मुख्य सचेत श्रेष्ठलगायत तथा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेललगायतको सहभागिता थियो ।

अठारौँ सार्क शिखर सम्मेलनको तयारीलगायत कारणबाट केही दिनयता संविधान लेखनको विषयमा दलबीच छलफल हुन सकेको थिएन । रासस