पोखरा बसपार्क निर्माणमा दवाब दिन सरोकार समिति गठन


पोखरा /पोखरा बसपार्क निर्माणमा दवाब दिनका लागि ‘पोखरा बसपार्क निर्माण सरोकार समिति’ गठन गरिएको छ । मंगलबार पोखरामा आयोजित सर्वपक्षीय भेलाबाट नागरिकस्तरीय १७ सदस्यीय सरोकार समिति गठन भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थाापाको संयोजकत्वमा सरोकार समिति गठन भएको हो ।

समितिका सदस्यमा नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका चिरञ्जिबी श्रेष्ठ, वडा समन्वय समितिका लोकदर्शन कोइराला, उत्तम जोशी, पोखरा–९ आमा समूहकी अध्यक्ष दिलमाया गुरुङ, पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष रिजन शेरचन, पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष ऐन कुमार शाई, पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, विश्व शंकर पालिखे, विष्णुबहादुर भट्टराई, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य र स्थानीय कृष्ण टोल विकास संस्थाका अध्यक्ष लेखुराम खत्री, शशी तुलाचन, विष्णुमाया श्रेष्ठ छन् ।

पर्यटकीय नगरी पोखरालाई अन्तर्राष्ट्रिय शहरका रुपमा विकास गर्नका लागि व्यवस्थित बसपार्क अनिवार्य भएको संयोजक थापाले बताए । ‘पोखरामा विकासको नेतृत्व नागरिक समाजले गर्दै आएका छन्,’ उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दबाब दिएजस्तै अब बसपार्क निर्माणका लागि पनि दबाब आवश्यक छ ।’ पोखरामा बसपार्क निर्माणका लागि ४० वर्ष अगाडि जग्गा अधिग्रहण भएपनि अहिलेसम्म बन्न सकेको छैन ।

पोखरा उद्योग वाणिज्य संघको सहयोगमा नागरिक समाज पोखराले आयोजना गरेको सर्वपक्षीय भेलामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिक समाजले विकासका लागि निरन्तर दबाब दिनुपर्ने बताए । ‘पोखरामा व्यवस्थित बसपार्क नहुनु लाजको विषय हो,’ उनले भने । पोखरा उपत्यका नगरविकास समितिका सभापति विष्णुप्रसाद वास्तोलाले बसपार्क बनाउन सबैले पहल गर्नुपर्ने बताए । ‘नगर विकास समिति पनि बसपार्क बनाउन लागि परेको छ,’ उनले भने, ‘बसपार्क बनाउन सबैको सहयोग आवश्यक छ ।’

कार्यक्रममा पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष जितबहादुर गुरुङ, विश्वप्रकाश लामिछाने, पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, राजनीतिक दलका प्रतिनिधिलगायतले बोलेका थिए । वक्ताहरुले पोखरामा व्यवस्थित बसपार्कको खाँचो रहेको बताउँदै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।