स्पेनमा नेपाली राजदुताबास स्थापनाको जोडदार माग, सरकारलाई ज्ञापनपत्र बुझाईने


बसन्त रानाभाट
बार्सिलोना
स्पेनबासी नेपालीहरुले राजदुताबास स्थापनाको माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनको नेतृत्बमा राजनीतिक संगठन लगायत बिभिन्न संघ सस्थाहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउन लागेका हुन्।

स्पेनमा आउदा पुर्ब प्रधानमन्त्री देखि पार्टीका बरिष्ट नेताहरुलाई पटक पटक आग्रह गर्दा पहल गरिदिने आश्वासन पाएका स्पेनबासी नेपालीहरु आफ्नो आवाज नसुनेको भन्दै दवाब स्वरूप नयाँ कदम उठाउन लागेका हुन्। भुत पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली,एकिकृत माओबादी नेता स्वर्गिय पोष्ट बहादुर बोगटी,डा प्रकाश शरण महत,भिम रावल,मिनेन्द्र रिजाल,अर्जुन जोशी लगायतका नेताहरुलाई आग्रह गर्दा पहल गरिदिने वचन दिए पनि नेपाल गए पछि भुल्ने गरेको स्पेनबासी नेपालीहरुको गुनासो रहेको छ।

एनआरएन स्पेनका अध्यक्ष एक राज गिरीले नेपाल सरकारले स्पेनमा बस्ने नेपालीहरुका समस्यालाई सुनेर दुताबास खोल्न अग्रसरता देखाउनु पर्ने बताएका छन्। उनले भने “स्पेन आउने सबै नेताहरु सँग बिनय गर्दा पनि परिबर्तन आएको छैन अब नेपालमा नै गएर सरकारलाई दबाब दिन्छौ। बरु सरकारले दुताबास स्थापना गर्दा लाग्ने खर्च बाड्न तयार छौ तर हाम्रो आबाजलाई सुनिदिनु पर्यो।”

सन् २०१५ को शुरुवातमा नै एनआरएनए स्पेन,आईसिसि सल्लाहकार,आईसिसि सदस्य,नेपाली जनसम्पर्क समिति,प्रबासी नेपाली मन्च,जन प्रगतीशिल मन्च(एमाओबादी),जन प्रगतीशिल मन्च(ड्यास माओबादी) लगायत जातीय तथा क्षेत्रीय संघ सस्थाको प्रतिनिधिहरु नेपाल पुगेर सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन्।
राजदुताबास नहुदा स्पेनलाई पनि फ्रान्स स्थित नेपाली दुताबासले हेर्दै आएको छ। पोर्चुगल,ग्रिस लगायतका अन्य मुलुकलाई पनि हेर्नु पर्ने हुदा फ्रान्स दुताबासले स्पेनका नेपालीहरुका समस्यालाई सम्बोधन गर्न सकेको छैन। एमआरपी पासपोर्ट बनाउन, वारिस नामा लगायतका कागजात बनाउन लामो समय कुर्नु पर्ने झन्झट छ । फारम बिग्रदा,पासपोर्ट गलत बनेर आउदा पटक पटक डकुमेन्ट फ्रान्स र स्पेन गर्नुपर्ने हुदा स्पेनबासीले हैरानी ब्योहोरेका छन्।

अर्को तर्फ दुताबास नहुदा स्पेन सरकार सँग नेपालको कुटनीतिक पहल हुन सकेको छैन। दिल्ली स्थित स्पेनिस दुताबासले परिबार पुनर्मिलनको क्रममा नेपालको कुनै पनि अस्पतालबाट दिएको मेडिकल रिपोर्ट र डकुमेन्ट ट्रासलेटलाई मान्यता नदिनु नै कुटनीतिक पहलको अभाब हो। स्पेन र नेपालमा देखिएका समस्या निराकरणको बिकल्प केवल दुताबास स्थापना नै रहेकोले स्पेनबासी नेपालीहरुले सरकार सँग जोडदार माग गरेका हुन्।