घलेको नेतृत्वमा एनआरएनए


-चिरन शर्मा

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घलेले नेतृत्व समालेको एक वर्ष पूरा हुँदैछ। जुन उद्देश्य र रस्साकसीमा घले अध्यक्ष बनेका थिए, त्यसका विपरित उनको नेतृत्वको विषयलाई लिएर एनआरएन माँझ टिकाटीप्पणी सुरू भएको छ।
अष्ट्रेलियावासी धनाढ्य घलेले जब गैरआवासीय नेपाली संघको नेतृत्व लिन तम्सिय उनी एकाएक विदेशमा बस्ने नेपालीमाँझ चम्किए। घलेको सालिनता, उनले प्राप्त गरेको ब्यवसायिक सफलतालाई मुख्य आधार बनाएर नै गैरआवासीयहरुको नेतृत्व समाल्न सक्ने ब्यक्तित्वका रुपमा उनलाई त्यसबेला विश्लेषण गरिएको थियो।

घलेले नेतृत्व सम्हाल्दा गैरआवासीय नेपाली संघको अभियानले १० बर्ष पार गरिसकेको थियो। त्यस अवधिमा एनआरएन अभियानमा घलेको भूमिका सुनिएको थिएन्। त्यसपछि उनी एकाएक चर्चामा मात्र आएनन् संघका संस्थापकहरुको हातबाट नेतृत्व खोस्न सफल भए। घलेलाई नेतृत्वमा ल्याउन पूर्वअध्यक्ष जीवा लामिछानेले इच्छा देखाए, त्यसको फाइदा घलेलाई भयो भन्दा अतियुक्ति हुँदैन। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्थाभित्र निरन्तर काम गरिरहेका मध्यबाट नेतृत्व आउनुपर्नेमा जोड दिएका थिए भने लामिछाने सक्षमताका आधारमा नेतृत्व पाउनु पर्छ भन्दै घलेलाई सहयोग गरेका थिए।

छैटौ विश्व सम्मेलन गैरआवासीय नेपाली संघको ऐतिहासमा धेरै कुराले महत्वपूर्ण र ऐतिहासिक रह्यो। बर्षैंदेखि संस्थापक अध्यक्षसँग भएको मैत्रिपूर्ण सम्बन्धलाई जोखिममा राखेर लामिछानेले घलेलाई नेतृत्व हस्तान्तरण गरे। त्यसलाई गैरआवासीय नेपाली संघभित्र लामिछानेको नेतृत्वमा नयाँ शक्तिकेन्द्र स्थापना भएको कतिपयको बुझाइ रह्यो।

गैरआवासीय नेपाली संघलाई नेपाल सरकारमा दर्ता गर्ने विषयमा संस्थापक अध्यक्ष डा. महतो र तत्कालीन अध्यक्ष लामिछानेबीच मतभेद थियो। अन्ततः लामिछानेले आफ्नो कार्यकालमा संघ दर्ता गरे। उनको यो निर्णयले एनआरएनको भविष्यमा कस्तो प्रभाव पार्छ, त्यसको हिसाबकिताब पनि पछि नै होला, तर लामिछानेको आफ्नो स्वाभाव भन्दा भिन्न शैलीमा निर्णय लिँदै घलेलाई नेतृत्व हस्तान्तरण गरेको विषयमा भने यतिबेला बहसको विषय बनेको छ। यतिबेला घलेको चर्चासँगै संस्थापक अध्यक्ष डा. महतोको चाहन विपरित भएका यी दुबै महत्वपूर्ण निर्णयले विशेष अर्थ राख्नेछ।

घलेले नेतृत्व लिए पनि उनीमाथि पूर्वअध्यक्ष लामिछानेको छायाँ रहिरहने धेरैले अडकल काटेका थिए। तर लामिछानेले आफूलाई पृथक राखे। घलेले पनि खोला तर्रयो लौरो बिर्सियो जस्तै गरि लामिछानेको सहयोगलाई बिर्से। यो एनआरएनमा घामझै छर्लङ देखिएको यथार्थ हो– घलेले नेतृत्व लिएपछि धेरै संस्थापकहरु एनआरएन अभियानबाट विस्तारै बाहिरिएन थालेको महसुस गर्न थालिएको छ।

सामूहिक नेतृत्वमा चल्दै आएको संस्थामा एकै पटक घलेले एकल नेतृत्वमा लैजान खोजेको देखियो। राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च सरकारी भेटवार्तामा पूरै गैरआवासीय नेपाली संघको कार्यसमितिलाई समेत बाइपास गरेपछि उनी अघि बढ्न खोजे। उनका गतिविधिले त्यो देखायो। त्यो गतिविधिले गैरआवासीय नेपाली संघभित्र शंका पैदा गर्न थाल्यो। दशौं बर्षदेखि चल्दै आएको परम्परालाई लत्यार एक्लै बढ्न खोज्दा धेरैलाई अस्वाभाविक लाग्यो।

घलेले लण्डनमा आयोजित एक कार्यक्रममा प्रष्टै भनेका थिए– ‘यो अभियान १० बर्षदेखि जुन हिसावले चलेको थियो, अब त्यसरी चल्न सक्दैन। स्थायित्वका लागि नयाँ सोच र तरिकाका साथ गैरआवासीय नेपाली संघलाई उचाइमा पुर्‍याउँछु। उनले घुमाउरो पारामा परम्परागत नेतृत्वशैली गलत रहेको उल्लेख गरेका थिए। तर उनले लण्डनमा उद्घोष गरेको नयाँ नीति र शैली कस्तो हो प्रष्ट भएको छैन। गत जुन महिनामा स्पेनको बार्षिलोनामा आयोजित क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै घलेले भने, ‘मैले केही नयाँ काम गर्न थालेको होइन, पुरानै कुरालाई निरन्तरता दिन लागेको हुँ भनेपछि उनको बोलीमै एकरुपता पाएन। यसबाटै घले स्वयम आफै स्पष्ट नीति र कार्यदिसा बनाउन नसकेर रुमलिएको प्रस्टै हुन्छ।

गैरआवासीय नेपाली संघको पहिलो बैठक अध्यक्ष घलेको अध्यक्षमा गत अक्टोरको अन्तिम साता काठमाडौंका बसेको थियो। सो बैठकले महत्वपूर्ण निर्णय लियो। दोस्रो बैठकसम्म आइपुग्दा घलेले स्वंयले गरेका निर्णयमा खुट्टा टेक्न सकेनन्। पहिलो बैठकले गरेका कतिपय निर्णय दोस्रो बैठकमै उल्टिएपछि उनको निर्णय क्षमता कार्यसमितिका सदस्यहरुले चाल पाए। तेस्रो बैठकसम्म आइपुग्दा घले स्वय आफै कार्यसमितिमा अल्पमतमा पर्ने अवस्था आयो। एनआरएन यूरोपको क्षेत्रीय बैठक सुरु हुनुभन्दा हप्ता दिन पहिला घलेले ८ बुँदाको निर्देशन जारी गरे। उनले भनेका थिए– क्षेत्रीय बैठक स्थानीय मुद्दामा केन्द्रीत हुनुपर्ने, अन्तर्राष्ट्रिय प्रकृतिको बैठक हुन नहुने, बैठकमा प्रस्तुत हुने एजेन्डा केन्द्रबाट स्वीकृति लिनुपर्ने, १४ दिनभित्र क्षेत्रीय बैठकको रिर्पाेट केन्द्रमा बुझाउनु पर्नेलगायतका थिए। उक्त निर्देशन विधान विपरीत भएको एनआरएनभित्र चर्चा चल्यो। उनले पदाधिकारीभित्र समेत छलफल नगरी ब्यक्तिगत बिचारमा क्षेत्रीय बैठकमाथि लगाम लगाउने खोजेको आरोप लाग्न थालेपछि विवाद सुरु भयो।

कतिपयले घलेले ब्यक्तिगत कम्पनीका रुपमा संघलाई चलाउन खोजेको आरोप लगाएका छन्। काठमाडौंस्थित एनआरएनको आफ्नै कार्यालय बलियो बनाउनुको सट्टा आफ्नो कम्पनीको कार्यालयलाई प्रयोग गरेको आरोप उनीमाथि छ। संघभित्रका दैनिक गतिविधिमा समेत उनी जानकार छैनन्। अधिकांश इमेल उनका सहयोगीले मात्र हेर्छन्, उनी ती इमेल आफ्नै हिसावले रिप्लाई गर्दिदैन।

एक पदाधिकारीका अनुसार गैरआवासीय नेपाली संघका कतिपय मुद्दा र विधानका बारेमा उनी अलमलमा छन्। घले संघका विधिविधानलाई गहिरोसँग अध्ययन गर्छन्। तर कार्यान्वयन गर्न डराउँछन्। कतिपय मुद्दामा प्रष्ट भएता पनि निर्णय गर्ने क्षमता कमजोर छ। धेरै निर्णय एकल रुपमा लिन सक्दैन र पदाधिकारी विधानः गठन हुनुपर्ने विभिन्न समिति तथा उपसमितिमाको मनोनय समयसीमाभित्र हुन सकेन्। गठन भएका अधिकांश कार्यदल निस्कृय छ।

गैरआवासीय नेपालीले माग गर्दै आएको दोहोरो नागरिकताको मुद्दा गठित नागरिकता उपसमिति समेतले महत्वपूर्ण भूमिका निर्वाहा गर्न सकेको छैन। सल्लाहाकारको नियुक्तिसमेत त्यस्तै फितलो रह्यो। गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि यो अभियानलाई सहयोग गर्ने संघको प्रयासलाई अध्यक्ष घलेले चिन्दैनन। संघ स्थापना कालदेखि सहयोग गर्दै आएका प्रवासी सञ्चारकर्मी र घलेबीच खाडल गहिरो छ।

समृद्ध नेपाल बनाउने अभियान अहिले खुम्चिर एनआरएन घर बनाउने अभियानमा अध्यक्ष घले जुटेका छन्। तर उनको यो अभियान एनआरएनमा दोस्रो पटक पनि नेतृत्व लिने तरुपका रुपमा प्रयोग हुने विश्लेषण गरिएको छ। यसै वर्ष निर्माण प्रक्रिया थाल्ने भनिएको एनआरएन भवन अलपत्र छ।

यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एक्लै बनाइदिने घोषणा गरेका थिए। एनआरएन स्रोतका अनुसार महतोले आफ्नी आमाको नाममा सो भवन बन्ने भएमा आफूले पुरै भवन बनाइदिने इच्छा ब्यक्त गरेका थिए। तर घलेले ब्यक्तिको नाममा एनआरएन भवन बन्न नसक्ने भन्दै चन्दा संकलनमा लागेका थिए।

देशले अपेक्षा गरेअनुरुप लगानी भित्राउने अभियान सुस्ताएको एनआरएनको हालै जापानमा सम्पन्न ८ औं क्षेत्रीय बैठकले सामूहिक लगानीलाई पुरै तिरस्कृत गरेको छ। सामूहिक लगानीको अवधारणलाई घलेले निरन्तरता दिन सकेनन। उनको ब्यक्तिगत लगानीमा काठमाडौंमा बन्न लागेको पाँचतारे होटलबाहेक अन्य लगानी नेपालमा भित्रिएको देखिएन। गएको १ बर्षमा भएका नियमित क्षेत्रीय बैठकहरुले नयाँ नीति तथा कार्यक्रमतय गर्न सकेन। गैरआवासीय नेपाली संघका पिलरका रुपमा रहेका करिब ७० देशका राष्ट्रिय समितिलाई केन्द्रले कार्यक्रम दिन नसक्दा प्राय निस्कृय छन्। उनीहरु अहिले खेलकुद, बार्बेक्यू, सांस्कृति कार्यक्रम, पिकनिक, समर आउटिङलगायतका अर्थबिहिन कार्यक्रम गरेर बस्न बाध्य छन्। उनीहरुलाई केन्द्रको प्रष्ट निर्देशनको अभाव छ।

गैरआवासीय नेपाली संघले बिगतमा सञ्चालनमा गर्दै आएको १ जिल्ला १ प्रोजेक्ट कार्यक्रमको राम्रो मोनिटरिङ नहुदा जिल्ला–जिल्लामा एनआरएनका प्रोजेक्ट जाने क्रम बन्दजस्तै छ। भइराखेका इलाईब्रेरी पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन भने नयाँ खोल्ने काम बन्दै भएको छ। बिभिन्न देशका देखिएका विवाद समाधान गर्न घलेले नेतृत्वले पहल गरेको देखिएन। बेलायतलगायतका देशमा भएको अन्तरिक विवाद समाधान गर्न कुनै पहल नै भएको छैन। संघभित्रका कतिपय निर्णयमा पारिवारिक हस्तक्षेपसमेत हुने गरेको आशंका छ।

घलेले नेतृत्व लिएपछि एनआरएन भवन, शंखमुल पार्क, बृद्धाआश्रम, मध्यपूर्वमा कार्यरत नेपाली कामदारका लागि अक्षयकोष, आफ्नै लागानीमा बन्दै गरेको पाँचतारे होटल, आफैले पढेको स्कुललाई ५० लाख सहयोग लगायतका प्रोजेक्ट चर्चामा रहे पनि सम्पन्न भने भइसकेका छैनन्। गैरआवासीय नेपाली संघ अभियानलाई लामो समयदेखि नियाली रहेका एनआरएन पदाधिकारी घलेबारे भन्छन् उहाँमा टिम कोर्डिनेशनमा कमजोरीजस्तो देखियो उहाँले पुराना अनुभवीलाई प्रयोग गर्न सक्नु भएन र कसैलाई पनि विश्वासमा राख्न सकेको अवस्था रहेन। उनले भने सामाजिक संघसंस्था विजनेश मोडलमा चल्दैन।

घलेको भद्रस्वाभावलाई गैरआवासीय नेपालीहरुले निकै रुचाएका थिए। तर, संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष लामिछानेले जस्तै सबै गैरआवासीय नेपालीको मन जित्न घलेको एक वर्षे कार्यकालको विश्लेषण गरेर पुग्दैन। तर दिउँसोको अवस्था विहानीले देखाउँछ भनेझै उनको बाँकी रहेको एक वर्षे कार्यकालको कस्तो होला भन्ने आकलन भने सजिलै गर्न सकिन्छ।

 

प्रकाशित मिति: शनिबार, आश्विन २५