प्रहरी निरीक्षकले ड्युटीमै रहेका हवल्दारलाई कानको जाली फुट्ने गरी कुटपिट


पोखरा/

सेवाग्रहीलाई मुस्कानसहितको सेवा दिने बताइ रहेका बेला कास्की प्रहरीले आफ्नै हाकिमद्वारा कुटिएका एक प्रहरी हवल्दारलाई न्याय नदिएको खबर प्राप्त भएको छ । गएको आइतबार राती ११ बजे पोखराको हल्लनचोकमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले ड्युटीमै रहेका बखत प्रहरी हवल्दार राजकुमार चौधरीको कानको जाली फुट्ने गरी कुटपिट गरेपनि उनलाई न्याय दिन कास्की प्रहरीले तत्परता नदेखाएपछि पीडित प्रहरी हवल्दार चौधरी निराश बनेका छन् ।
प्रहरी निरीक्षक तिवारीद्वारा हवल्दार चौधरीको कानको जाली फुट्ने गरी कुटपिट
पीडित प्रहरी हवल्दार चौधरीले वडा प्रहरी कार्यालय बैदामका प्रमुख समेत रहेका प्रहरी निरीक्षक सुन्दर तिवारीका विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पनि दिएका छन् । तर उनको उजुरीको कुनै सुनुवाई भएको छैन । सिभिल पोशाकमा रहेका तिवारीको कुटाईबाट चौधरीको दुवै कानको जाली फुटेको  हटलाइ पत्रिकामा खबर छ ।

राती कुटाई खाएपछि पनि आफ्नो कार्यक्षेत्रमै खटएिका चौधरी अहिले भने वडा प्रहरी कार्यालय बैदाम मातहतको सिआरभी छाडेर जिल्ला प्रहरी कार्यालय कास्की मातहतमा खटएिका छन् । तिवारी मातहत बसिरहँदा फेरि पनि कुटाई खानुपर्ने डरले उनले वडा प्रहरी कार्यालय बैदाम मातहतको सिआरभी छाडेको उनले बताएका छन् । प्रहरी निरीक्षक तिवारीले आफूलाई यसअघि पनि चिप्लेढुङगाको सिआरभीमा खटंिदा पनि विभिन्न बहानामा धम्क्याउने गरेको उनले बताए । उनको गुनासो छ, “कहिले घुस खाएको आरोपमा त कहिले अन्य बहानामा जागीर नै खाईदिने सम्मका धम्की दिने गरेको” उनको प्रश्न छ, “घुस खाएको भए प्रमाणसहित कारवाही गरेको भए हुन्थ्यो नसिहत दिएको भए हुन्थ्यो । तर ड्युटीमा रहेका बेला एक्कासी कुट्नु कतिको जायज हो .

नेपाल प्रहरीमा १५ बर्षको सेवा अनुभव बटुलेका प्रहरी हवल्दार चौधरीमाथि भएको कुटपिट बारे जिज्ञासा राख्दा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीले आफूले चौधरीमाथि कुटपिट नगरेको बताए । उनले आफुले चौधरीलाई कुटेको नभई राम्रो मोनिटरीङ नगरेकाले वाकीटकी सेट खोसेर सिपाहीलाई दिएको प्रतिक्रिया दिए । हवल्दार चौधरीले काममा अल्छी देखाउने र त्यो रात पनि सिआरभी भ्यानमा बसेर गस्ती गर्नुपर्नेमा त्यसो नगरेकाले सामान्य हप्काएको तिवारीले बताए ।