सार्क मन्त्रिस्तरीय बैठक न्युयोर्कमा


न्युयोर्क, असोज १०

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक बिहीबार न्युयोर्कमा बसेको छ। बैठकमा माल्दिभ्समा भएको सार्क मन्त्रिस्तरीय बैठकपछि भएका प्रमुख गतिविधिका बारेमा छलफल भएको थियो।

सार्क क्षेत्रका विदेशमन्त्रीहरू संयुक्त राष्ट्रसङ्घको ६९औं महासभामा भाग लिने क्रममा हाल न्युयोर्कमा छन्। महासभामा भाग लिन आउने क्रममा सार्क मुलुकका विदेशमन्त्रीहरूको अनौपचारिक बैठक गरिने प्रचलन स्थापित हुँदै आएको छ।

पराराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आगामी सार्क शिखर सम्मेलनका लागि नेपाल सरकारले गरेको तयारीका बारेमा बैठकलाई विस्तृत रूपमा जानकारी गराएका थिए।
काठमाडौँमा हुन लागेको सार्क शिखर सम्मेलनको तयारी र काठमाडौँ घोषणापत्रमा रहने प्रमुख विषयलाई बढी केन्द्रित गरेर छलफल भएको परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागीले जानकारी दिए।