सर्वपक्षीय राजनीतिक सम्मेलनबाट सत्तारुढ दल भागेको वैद्यको आरोप


काठमाडौं , आश्विन ६ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्वपक्षीय राजनीतिक सम्मेलनबाट सत्तारुढ दल भागेको आरोप लगाउनुभएको छ ।

खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ संस्मरणात्मक कृतिको विमोचन गर्दै अध्यक्ष वैद्यले आफूहरुलाई पाखा लगाउने प्रयास सफल नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– “सम्मेलनको क्षेत्राधिकार, यसले गर्ने निर्णयको वैधानिकताबारे प्रस्ट लेख्नुप-यो भन्ने माग हामीले राख्यौँ, तर उहाँहरुले विचार गोष्ठी जस्तो एक दिन सम्मेलन बोलाएर पाँच पाँच मिनेट कुरा राखेर जाने प्रस्ताव राख्दा कुरा मिल्न सकेन ।”

अर्काे प्रसङ्गमा उहाँले माथिल्लो कर्णालीको परियोजना विकास सम्झौतामा राष्ट्रघात भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वकै सस्तो कर्णाली परियोजना सरकार र जनताको साझेदारीमा बनाउनुपथ्र्यो, त्यहाँबाट उत्पादित बिजुली नेपालले नै उपभोग गर्न पाउनुपथ्र्यो तर किन भारतले बनाउने र भारतमै बेच्ने गरी बनाइयो ?” विमोचित पुस्तकमाथि टिप्पणी गर्दै अध्यक्ष वैद्यले त्याग, बलिदानका बीचबाट जन्मिएको पुस्तक जनयुद्धमा सहभागीको वास्तविक जीवनको इतिहास भएको बताउनुभयो ।

नेकपा–माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले वर्गीय पक्षधरता तथा जीवन परिवर्तनको कोणबाट कृतिको मूल्याङ्कन हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

पुस्तकका लेखिका रिजालले आफ्नो जीवन भोगाइ र आन्दोलनका क्रममा भोगेका घटनालाई पुस्तकका रुपमा उतार्ने प्रयास गरिएको जानकारी दिनुभयो ।

जनयुद्धमा आफू पूर्णकालीन भएर लागेको र सोही क्रममै आफ्नो जीवनसाथी पनि गुमाउनुपरेको तर शान्तिकालमा आफूले अपहेलित हुनुपरेको घटनासमेत पुस्तकमा रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा प्राज्ञ अमर गिरी, समालोचक प्रा जगदीशचन्द्र भण्डारी, प्रा रमेश भट्टराईलगायतले पितृसत्तात्मक समाजका विरुद्ध आन्दोलनमा होमिनुभएकी रिजालले पार्टीभित्रै पनि पितृसत्ताका विरुद्ध सङ्घर्ष गर्नुपरेको घटना पुस्तकको महत्वपूर्ण पाटो भएको बताउनुभयो ।