मिस मगर नेपाल–२०१४ को तयारी पूरा


पोखरा, २७, भदौ
नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा हुन लागेको ‘सिंगापुर इन्टरप्राइजेज मिस मगर नेपाल–२०१४’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
विविध सांस्कृतिक कार्यक्रमसहित हुने सो प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार पोखरा सभागृहमा हुनेछ । पहिलोपटक हुन लागेको सो प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक एवं नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि सिंगापुर इन्टरप्राइजेज काठमाडौंले शीर्षक प्रायोजन गरेको छ भने रवि अटोमोबाइल्स मुख्य प्रायोजक रहेको छ । त्यस्तै, एट्लस ओभरसिज इम्प्लोइमेन्ट प्रालि काठमाडौं र युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट सह–प्रायोजक रहेका छन् ।
आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताको उद्घाटनका लागि संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीमगर आउने पक्का भएको छ भने कार्यक्रममा सभासद्हरू, पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानामगर, पूर्व जर्नेलहरू, पूर्व प्रहरी नायब महानिरीक्षकहरू, विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहनेछ ।
प्रतियोगितामा भाग लिएका सहभागी प्रतियोगीहरूले देशका विभिन्न सहरबाट अडिसनमार्फत छनौट भइ एक महिने बन्द प्रशिक्षणमा विभिन्न तयारी र अभ्यास सम्पन्न गरिसकेका छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ३० जना प्रतियोगी सहभागी हुँदैछन् ।
‘जातीय भाषा संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ भन्ने मूल मन्त्रका साथ आयोजित सो प्रतियोगिता राष्ट्रियस्तरमा पहिलोपटक आयोजना गर्न लागिएको हो भने यसअघि नै नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा मिस मगर पोखरा–२०११ र २०१२ गरी दुई संस्करण सम्पन्न भइसकेका छन् भने मिस मगर तनहुँ र मिस मगर लुम्बिनी जम्मा एक÷एक संस्करण मात्र सम्पन्न भएका छन् । मिस मगर नेपाल–२०१४ मा सहभागी हुनका लागि मिस मंगोल–२०१२ की बिजेता सपना रोकामगर समेत पोखरा आइसक्नुभएको छ ।
यसैबीच, नेपाल मगर सङ्घ केन्द्रीय समितिको १२ औं बैठक शुक्रबार पोखरामा बस्दैछ । लामो समयपछि सङ्घको केन्द्रीय बैठक काठमाडौंबाहिर पोखरामा बस्न लागेको हो ।
नेपाल मगर सङ्घको सो बैठकमा लागि सङ्घका नेताहरू पोखरा आइसकेका छन् । केही भने शुक्रबार बिहानसम्म पोखरा आइपुग्ने केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले जानकारी दिनुभयो ।
बिहीबार केन्द्रीय अध्यक्ष थापामगर, वरिष्ठ उपाध्यक्ष वसन्त घर्तीमगरलगायतका नेताहरू पोखरा आइपुग्नुभएको छ । बैठकमा समसामयिक परिस्थितिमा मगर सङ्घको भूमिकाका बारेमा गम्भीर छलफल हुने अध्यक्ष थापामगरले बताउनुभयो ।