राजदूतसहितको टोली कास्मिर बाढीमा चार दिन थुनियो


काठमाडौँ, भदौ २७  –

गत साता काश्मिरको श्रीनगरमा आएको बाढीमा केही नेपाली अधिकारी र भारतीय राजदूतसहितको एउटा टोली चार दिन थुनिएका थिए।परराष्ट्र मन्त्रालयका सहसचिव तथा नेपालका लागि भारतका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, बिपी कोइरालाका छोरा श्रीहर्ष कोइराला, कलाकार रागिनी उपाध्याय, नेपालका लागि भारतका राजदूत रञ्जित रे, अर्का भारतीय अधिकारी अभय ठाकुर बिपी कोइराला नेपाल भारत प्रतिष्ठानको बैठकमा सहभागी हुन श्रीनगर पुगेका बेला प्राकृतिक विपत्तिमा परेका थिए।

सेप्टेम्बर ७ मा फर्किने निर्णयअनुसार उनीहरु आफू बसेको सरोवर होटलबाट बिहान ६ बजे नै निस्केका थिए तर बाढीका कारण सारा रोडहरु जलमग्न थिए। कुनै गाडीहरु नचलेको हुँदा त्यस दिनको फ्लाइट उनीहरुले मिस गरे। न कुनै नेटवर्क, न कुनै टेलिफोन सुविधा नै थियो। ‘धन्न होटल अलिक उचाइमा भएका कारण बाढीले कुनै क्षति पुर्‍याएको थिएन,’ सम्झन्छन् कृष्णप्रसाद ढकाल।
एक किलोमिटरमाथि रहेको शंकराचार्य मन्दिरबाट भने कहिलेकाहिँ नेटवर्क टिप्ने थाहा पाएपछि राजदूत रञ्जित रे र कृष्णप्रसाद ढकाल होटलको पछाडिपट्टिबाट पैदल उकालो लागे मन्दिरतिर।
माथि मन्दिर पुगी ढकालले नेपालको मन्त्रालयमा म्यासेज पठाए भने रञ्जित रेले आफ्नो मन्त्रालयमा सम्पर्क गरे। भारतमा रहेको नेपाली दूतावासले भारतको सैनिक मुख्यालयमा सम्पर्क गरेर त्यस विपत्तिमा सहयोगका लागि पहल गर्‍यो।
हिन्दुस्तान टाइम्सका अनुसार ८ सेप्टेम्बरमा अभय ठाकुरसहित कृष्णप्रसाद ढकाल, श्रीहर्ष कोइराला र अन्य राजनीतिकर्मीहरु श्रीनगरका मुख्यमन्त्री ओमर अब्दुल्लाहको घरमा पुगे। त्यसपछि उनीहरु त्यहाँका गभर्नर एनएन बोहराको घरमा पुगे। दुई दिनपछि बिहान ६ बजे भारतीय सेनाको गाडी उनीहरुलाई लिन होटल आयो र त्यहाँबाट उनीहरुलाई श्रीनगरको गभर्नरको घरमा हेलिप्याड भएको ठाउँमा पुर्‍याइयो। त्यस बेलासम्म पानीको मात्रा कम भइसकेको थियो। करिब ३ घण्टापछि आर्मीको हेलिकप्टर आयो र उनीहरुलाई श्रीनगर एयरपोर्ट लगियो। त्यहाँबाट त्यही दिनको बेलुका उनीहरु दिल्लीका लागि उडे। बाढीले चार दिन उनीहरु श्रीनगरकै होटलमा थन्किएका थिए।
श्रीनगरमा आएको बाढीले १ सय ५० को मृत्यु भइसकेको छ भने अझै धेरै घर डुबानमा छन्।