पत्रकार महासंघ यूके शाखाको, कतारी दूतावासमा ध्यानाकर्षण पत्र


लण्डन –

नेपाल पत्रकार महासंघ यूके शाखाले लण्डनस्थित कतारी दूतावासमा ध्यानाकर्षण पत्र पठाएको छ । नेपाली मूलका बेलायती नागरिक नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य गुणदेव घिमिरे र अधिकारवादी नेता कृष्ण उपाध्यालाई कतारमा बेपत्ता बनाएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि शाखाले कतारी दूतावास समक्ष उनीहरुको बारेमा जानकारी मागेको हो ।
विहीवार शाखाका अध्यक्ष चिरन शर्माले दूतावासलाई पत्र लेख्दै नेपाल पत्रकार महासंघ यूके शाखाका सदस्य घिमिरे तथा अधिकारवादी उपाध्यायको अवस्था तत्काल सार्वजनिक गर्न माग गर्दे उनीहरुको सुरक्षाको चासो राखेको छ ।
सो पत्र बारेमा नेपाली दूतावास लण्डन, नेपाल पत्रकार महासंघ र उनीहरु कार्यरत संस्था जीएनआरडीलाई समेत जानकारी गराइएको शाखाले जनाएको छ ।
अध्यक्ष शर्माले ‘अधिकार र विकाससम्बन्धी विश्वव्यापी सञ्जाल नामको गैरसरकारी संस्थामा संलग्न घिमिरे र उपाध्यायद्वयलाई कामको सिलसिलामा कतारमा रहेका बेला सादा पोशाकका प्रहरीले गत आइतबारदेखि बेपत्ता पारेको समाचारले महासंघ स्तब्ध भएको बताए ।