नेपाल प्रेस यूनियनको अध्यक्षमा संस्थापन पक्षबाट पराजुली र देउवा पक्षबाट सिग्देल भिड्ने


पोखरा, भदौ १४-

भदौ २१ र २२ गते पोखरामा हुन गईरहेको नेपाल प्रेस यूनियनको अधिवेशनमा अन्ततः कार्यवाहक अध्यक्ष बद्री सिग्देल र उपाध्यक्ष गंगाधर पराजुली बीच नेतृत्वको लागि भिडन्त हुने भएको छ ।

स्रोतका अनुसार राजधानीमा भएको संस्थापन पक्षको शीर्ष नेताहरुको बैठकले उपाध्यक्ष पराजुलीलाई आफ्नो पक्षको उम्मेदवार बनाउने टुङगो लगाए सगै पराजुली र वरिष्ठ नेता शेरबहादुर देउवा निकट कार्यवाहक सभापति सिग्देलबीच भिडन्त हुने निश्चित भएको हो । पराजुलीको नेतृत्वमा वर्तमान महासचिव शिव लम्साल वरिष्ठ उपाध्यक्षमा रहने सम्भावना बलियो देखिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, सन्तोष न्यौपाने ,महिला उपाध्यक्षमा बाला अधिकारी बलिया उम्मेदवारका रुपमा देखिएका छन् । त्यस्तै महासचिवमा लिलाराज खनाल, अजय शिवाकोटी ,चन्द्रशेखर अधिकारी , होम लम्साल ,सरोज अधिकारी मैदानमा उत्रने मनस्थितीमा रहेका छन् ।त्यसैगरी सचिवमा डम्बर अधिकारी,खिला कार्की, सूर्यकुमार क्षत्री, शिव देवकोटा, के.बी राना, सलोजा दाहाल मैदानमा उत्रदै छन् । त्यसैगरी केन्द्रीय सदस्यमा माधव धिताल, राजाराम कार्कीलेआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।