नेपाली संगीतमा झुम्यो बार्सिलोना 


बार्सिलोना। राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित गायक राजेश पायलसंगै  स्पेनका नेपालीहरुले नेपाली नयाँ बर्ष मनाएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनले आईतबार आयोजना गरेको नयाँ बर्ष विशेष कार्यक्रममा बार्सिलोना संगीतमय बनेको हो।

नव बर्ष २०८० सांस्कृतिक धमाका नाम दिईएको उक्त कार्यक्रममा गायक राईले ‘हुरुक्कै भएँ म’, दर्शन नमस्ते, ठुली,यानीमाया,सागरसरी चोखो माया लगायतका आफ्ना चर्चित गीतहरु सुनाएका थिए। सात  बर्ष पहिले पनि चर्चित गायक राईले बार्सिलोनामा आएर आफ्नो  प्रस्तुती राखेका थिए। नेपाली चलचित्र पाश्व गायन,नेपाली पप,नेपाली लोक पप,लगायत सुगम संगीत गरि जस्तो सुकै विधामा गीत गाउँन सक्ने क्षमता भएका गायकका रुपमा राई परिचित छन्।

गायक राईको साथमा लोक दोहोरी गायक चन्द्र शर्मा, गायिका सम्झना मगर लामिछाने लगायत स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति राखे।

यसअघि एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले प्रमुख अतिथिको रुपमा बोल्दै नयाँ बर्षको उपलक्ष्यमा   शुभकामाना ब्यक्त गरे।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा स्पेनस्थित संघ संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो।

एनआईसीको युरोप भेला सम्पन्न 

यसैवीच राष्ट्रिय आविष्कार केन्द्रप्रति चासो राख्दै आएका नेपालीहरुको पहिलो युरोपेली भेला पनि आईतबार बार्सिलोनामा सम्पन्न भएको छ।  

‘एनआइसी युरोप भेला’ नाम दिईएको उक्त कार्यक्रमलाई  राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक महावीर पुनले पनि भर्चुअल रुपमा सम्बोधन गरेका थिए। उनले  राष्ट्रिय आविष्कार केन्द्रले अहिले गरिरहेका कामहरुको बारेमा युरोपबासी नेपालीलाई जानकारी गराएका थिए।

भेलामा स्विडेन,फ्रान्स,बेल्जियम,बेलायत,जर्मनी,स्विट्जरल्याण्ड लगायतका मुलुकबाट विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीले सहभागिता जनाएका थिए। बार्सिलोना भेलाको व्यवस्थापन नेपाली जनसम्पर्क समिति स्पेनले गरेको हो।