जन्मथलोले डोर्‍याएको माया: स्पेनदेखि फिरफिरेसम्म 


बार्सिलोना। स्पेन निवासी एनआरएनए अभियन्ता मुक्त बहादुर गुरुङले आफ्नो जन्मथलो तनहुँ फिरफिरे क्षेत्रको बिकासका लागि ५ लाख २५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका छन्। गुरुङले शुक्रबार एक कार्यक्रमकावीच जन्मथलो पुगेर नै सहयोग गरेका हुन्। 

गुरुङको पहलमा स्पेनबासी नेपाली समुदाय,एनआरएन अभियन्ताहरु,बाराही प्राविका पूर्व विद्यार्थीहरुले रकम सहयोग गरेका हुन्।संकलित रकममध्ये तनहुँको शुक्लागण्डकी–१२ बराहडाँडामा अवस्थित बाराही प्राविलाई नगद ३ लाख रुपैया, विद्यार्थीहरुका लागि स्विटर, झोला र शैक्षिक सामग्री प्रदान गर्न ५० हजार रुपैया प्रदान गरिएको छ।

यस्तै  घर्तीचौतारा, ओलटारी ओजा खण्डको सडक मर्मतकालागि ७५ हजार, बराहाँडाँडा भोर्ले मोटर बाटो मर्मतकोलागि ५० हजार  र  श्री बाराही प्राविको बार्षिकोत्सव तथा मेला तथा खेलकुद कार्यक्रम सञ्चालनकालागि ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ। 

एनआरएन युरोप क्षेत्रीय उपसंयोजक समेत रहेका गुरुङले आफ्नो जन्मथलोमा सहयोग लिएर पुग्दा खुशी ब्यक्त गरेका छन्। ‘मैले जिन्दगीमा धुलो मैलो टक्टक्याउदै बाल सखाहरूसँग  कखरा सुरु गरेको स्कुलमा थोरै भए पनि अनमोल मायासहित योगदान गर्ने अबसर मिलेको छ। साह्रै गर्व महशुस गरेको छु।’ उनले भने।