कोष्टाब्लान्का घटनाले एनआरएनए स्पेनमा विवाद


बार्सिलोना। ‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान स्पेनको नेपाली समाजमा गजज्बको मसला बनेको छ। बेला मौकामा दुरुस्तै मेल खान्छ ।विगतमा प्रबासी नेपाली मञ्च निकटले एनआरएनए स्पेनको नेतृत्वमा रहंदा जनसम्पर्क समिति स्पेनले सधैं असहयोग मात्रै गरिरह्यो। अब जनसम्पर्क समिति निकट शालिकराम डुम्रेले एनआरएनए नेतृत्व सम्हाले लगत्तै विरोध र असहयोग सतहमा नै पोखिन सुरु भएको छ। उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गर्न फलामको चिउरा चपाउनु जत्तिकै कठिन देखिएको छ। 

अध्यक्ष डुम्रेको नेतृत्वमाथि प्रश्न उठाउदै कोष्टाब्लान्का घटना र एनसीसी भेलामा सहभागी बनेको बिषयलाई लिएर प्रबासी नेपाली मञ्च स्पेन र जनप्रगतीशिल मञ्च स्पेनले संघको कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नबन्ने भन्दै बिज्ञप्ति प्रकाशित गरेका छन्। ति संस्थाहरुले कार्यक्रममा सहभागि नबन्ने बताए पनि ‘बहिष्कार’ शब्द भने प्रयोग गरेका छैनन्।

एनआरएन स्पेनले सोमबार दशैं तिहार कार्यक्रमको आयोजना गरिरहेका बेला दुई राजनीतिक संगठन निकट संस्थाले कार्यक्रममा सहभागी नबन्न सार्वजनिक अपिल भने गरेका छन्।

कोष्टाब्याङ्का घटनाले केन्द्रमा विवाद :

कोष्टाब्याङ्काको दशैंतिहार कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएको प्रत्यक्षदर्शीहरु बताउदै आएका छन्। कुटपिटको घटनापछि एनआरएनए क्षेत्रीय समिति कोष्टाब्लान्का र  नेपाल समाज एसोसियशनले तीन जना ब्यक्तिहरुको नाम नै किटान गर्दै सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो। ति व्यक्तिहरुलाई अपशब्द बोलेको,महिलामाथि सम्मान नगरेको र हातपातमा उत्रेको आरोप सहित सामाजिक बहिष्कारको निर्णय भएको बिज्ञप्ति प्रकाशित भएको थियो।

यसअघि क्षेत्रीय समितिको निर्वाचनताका पनि छलफलको क्रममा दुईपक्षबीच कुटाकुट नै भएको थियो। तर त्यहीबेला आपसी सहमतिमा नै विवाद टुंगाउदै मिलापत्र गरिएको बताईन्छ।घटनाको प्रकार उस्तै भएपनि पूर्वाग्रही किसिमले सामाजिक वहिष्कार गर्ने निर्णय भएको एकपक्षले आरोप लगाउदै आएको छ। 

एनआरएनएन स्पेनको मातहातमा रहेको क्षेत्रीय समितिले बिज्ञप्ति प्रकाशित गरेर ब्यक्ति बहिष्कारको निर्णय गर्दा पनि डुम्रे नेतृत्वले विवाद सुल्झाउन कुनै पहल नगरेको दुई संगठनको संयुक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ। ‘प्रवासमा नेपाली समुदायको प्रतिनिधित्वमूलक सामाजिक संस्था गैर आवासीय नेपाली संघद्वारा नेपाली समाजसेवीहरुलाई नै झुटा, अपुष्ट र पूर्वाग्रही किसिमले सामाजिक वहिष्कार गर्ने निर्णयप्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ।’ विज्ञप्तिमा लेखिएको छ। 

यसबारे सर्वपक्षिय बैठक बस्दा पनि अभिव्यक्त भएका भावानाहरुलाई ठोस र मूर्त रुपमा कदर नगरिएको आरोप लगाउदै बिज्ञप्तिमा लेखिएको छ। ‘ समयमा नै न्याय निरुपण गर्न एनआरएनए स्पेन असक्षम भएको ठहर गरेका छौ।’

एनसीसी भेलामा सहभागी बनेकोमा आपत्ति :

कांग्रेस निकट डुम्रे नेतृत्वले केन्द्रिय अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले आयोजना गरेको एनसीसीहरुको भेलामा सहभागि बनेपछि संस्थापन पक्ष निकटले बिरोध गरेका छन्। अबैधानिक भेला भन्दै सो भेलामा एनआरएनए स्पेनले भाग लिएको भन्दै संस्थाहरुले बिरोध जनाएका हुन्। केन्द्रिय विवादमा एनआरएनए स्पेन मुछिन नहुने उनीहरुको जोड रहेको छ। 

 ‘एनआरएनएको विधान र मर्म विपरित एनसीसीहरुको भेलामा स्पेनले प्रतिनिधित्व गर्नु गम्भिर आपत्ति र स्पेनबासी नेपालीहरुको भावाना विपरित भएको भएको हामीले ठहर गर्दछौ।’विज्ञप्तिमा उल्लेख गरिएको छ। 

कडा शब्दहरुको प्रयोग गर्दै एनआरएन स्पेनले आयोजना गर्ने कार्यक्रमहरु पूर्ण रुपमा अस्विकार गर्ने निर्णय संयुक्त विज्ञप्तिमा लेखिएको छ। विज्ञप्ति प्रकाशित गर्ने संस्थाहरु नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च र नेकपा माओवादी निकट जनप्रगतिशील मञ्च स्पेन रहेका छन्। एनआरएनए स्पेनको हालको कार्यसमितिमा कांग्रेस निकट नेपाली जनसम्पर्क समिति निकटको बहुमत रहेको छ। 

विवाद समाधानकै कोशिसमा थियौ – अध्यक्ष डुम्रे 

एनआरएनए स्पेनले आयोजना गरेको सर्वपक्षीय बैठकमा शनिबारदेखि एक हप्ताभित्र विवाद मिलाउने सहमति भएको अध्यक्ष शालिकराम डुम्रेले बताएका छन्। ‘जुम मीटिंगमा सबै संघसँस्थाहरु,डिआरसी,आईसीसी सदस्यहरुको बैठकबाट शनिबारदेखि ७ दिनको मितिभित्र त्यहाँको विवाद समाधान गर्ने एउटा समिति गठन गरेर काम गरेका छौ। तर दुई संगठनहरुले एनआरएनए बहिष्कार गर्ने निर्णयको बिज्ञप्ति मैले राति देखेको थिए।’ 

क्षेत्रीय समितिले बिज्ञप्तिमा लेखेको बहिष्कार शब्दप्रति तपाईको राय के छ भन्ने जिज्ञासामा उनले भने, ‘ त्यो गलत भएको छ। त्यसलाई हामीले सुधार गरिरहेका छौ। बहिष्कार लेखिएको छ त्यसलाई खारेज गर्न वा शब्द नै निलम्बन गरेर फेरि अर्को बिज्ञप्ति निकाल्दै छौ। त्यसका लागि क्षेत्रीय समिति तयार छ। आज बैठक बस्दैछ।’

सर्वपक्षिय बैठकबाट एकहप्ताको अवधिभित्र विवाद समाधान गर्ने निर्णय भएको पनि त्यो अगावै दुई संगठनहरुले एनआरएनए बहिष्कार गर्नु दुखद भएको डुम्रेले बताए। ‘बिज्ञप्तिमा शब्दमा नमिलेको सबैले महशुस गरेको बिषय हो। त्यसपछि पनि म छलफलमा नै छु। बैठकमा एक हप्ताको समय भन्ने उल्लेख भएकाले उहाँहरुले एक हप्ता कुर्नुपर्ने थियो। सामाजिक रुपमा कुनै पनि संघ संस्थालाई यसरी बहिष्कार गर्नु हुने थिएन।’ उनले थपे।  

हातपात गरेर अपशब्द बोलेका यथेष्ट प्रमाणहरु क्षेत्रीय समितिसँग फुटेजहरु रहेको डुम्रेले बताए। ‘उहाँहरुले सामाजिक संजालमा लेखेका स्क्रीनसटहरु छन्। आबश्यक पर्यो भने सबै उपलब्ध गराउन सकिन्छ। ति कुराहरुलाई ध्यान दिनुपर्छ।’ क्षेत्रीय समितिले लेटर हेड प्रयोग गर्नु गलत भएको भन्दै अध्यक्ष डुम्रेले भने, ‘ त्यो गलत हो भनेर हामीले त्यही बैठकमा नै अर्को बनाउनुपर्छ भनेर भनिसकेका छौ।’ 

एनआरएनए स्पेन एनसीसीसी भेलामा सहभागी हुनु सामान्य प्रक्रिया रहेको भन्दै उनले भने, ‘ हामी ४३ कार्यसमितिका अध्यक्षहरु थियौं। विधानले एनसीसीको अध्यक्ष सहभागी बन्न नपाउने भनेर लेखेको छैन। यसमा अंकुश लगाउन जरुरी छैन।’भेलाबाट संस्थाको बेहित तथा अहिलेको आईसीसीको विरुद्वमा कुनै पनि निर्णय नभएको पनि अध्यक्ष डुम्रेले स्पष्ट पारे।