भक्कानिदै बिदा भए मेस्सी 


बार्सिलोना। बार्सिलोनाले आइतबार क्याम्प नाउमा आयोजना गरेको बिदाइ कार्यक्रममा लियोनल मेसी भक्कानिए। बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका हुन् । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सकेपछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए। 

सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए। १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका अर्जेटिनाका मेसीको पछिल्लो पटक भएको सम्झौता गत जुनमा सकिएको थियो।

यसअघि बार्सिलोना र मेसीबीच पाँच वर्षका लागि नयाँ सम्झौता हुन लागेको र मेसीको तलब आधा घट्ने बताइएको थियो।

पत्रकार सम्मेलनमा उनले थपे, ‘मैले २१ वर्ष बार्सिलोनामा बिताएँ, यहीँ मेरा तीन बच्चाको जन्म भयो । हाम्रो लागि बार्सिलोना घर हो । यो सहरले हामीलाई जे जति दियो, त्यसका लागि धन्यवाद दिनै पर्छ । म सबै खेलाडी साथीलाई पनि धन्यवाद दिन चाहन्छु । जसले मलाई साथ दिए, ती सबैप्रति म आभारी छु ।’

उनले बार्सिलोनाका लगि ७ सय ७८ खेल खेले र त्यसमा ६ सय ७१ गोल गरे ।