क्याथेरेसका मेयर लुम्बिनी गार्डेनको मुख्यालयमा, नेपालका सांसद र मेयरसँग अन्तरक्रिया


बार्सिलोना, मे २९ 

क्याथेरेस नगरका मेयर लुईस सालाया खुलियनले लुम्बिनी गार्डेन फाउन्डेसनको मुख्यालयको अवलोकन गरेका छन्। उनले गत साता स्पेनको राजधानी म्याड्रिडमा रहेको मुख्यालयको अवलोकन गरेका हुन्। स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउने योजना अघि सारिएको छ। लुम्बिनी गार्डेन फाउन्डेसनले झन्डै १० अर्व रुपैयाँ खर्च गर्दै सो नगरमा १० बर्षभित्रमा सो गार्डेन बनाउने एक महत्वकांक्षी योजना अघि सारेको हो। 

“मेयर लुईसले मुख्यालयमा आएर निकै चासो र उत्सुकतापूर्वक प्रगती विबरणबारे चासो राख्नुभयो। साथै भिडियो कन्फेरेन्समार्फत नेपालका संघिय सांसद र मेयरहरुसँग अन्तरक्रिया पनि अन्तरक्रिया गर्नुभयो।” फाउन्डेसनका महासचिव एकराज गिरीले बताए।

उनले संघीय सांसद डा. सुर्य पाठक, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी र फाउन्डेसनका बिभिन्न पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको महासचिव गिरीले जानकारी दिए। नेपालमा कोभिड संक्रमण बढिरहेको बेला पछिल्लो अबस्थाबारे मेयर लुईसले चासो ब्यक्त गरेका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलीले क्याथेरेस भ्रमणका क्रममा आफ्नो स्वास्थ्य प्रतिकुल भएकाले उपस्थिति हुन नसकेको जनाकारी गराउदै उनले भम्रणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सहयोग मिलेको प्रतिक्रिया दिए। 

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा लगायतले उनलाई मुख्यालयमा स्वागत गरेका थिए।  लुम्बिनी साँस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गर्न मेयर लुईसले गत बर्ष नै नेपालको भम्रण समेत गरेका थिए।