प्रचण्ड-नेपाल पक्षले अध्यक्षबाट हटायो ओलीलाई, नेपाल बने नयाँ अध्यक्ष


काठमाडौं-केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ। बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए। नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन्।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटिले ओलीमाथि गर्ने कारवाहीसहितका प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेर छलफल गरिएको थियो।

ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष
अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

माधव नेपाललाई अध्यक्ष बनाउने निर्णयमा प्रभु साहको असहमति
माधवकुमार नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले विरोध जनाएका छन् ।
मंगलबार थापाथलीस्थित कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए ।
साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।