यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिजम गठन


जीएनएन : यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिज्मको औपचारिक घोषणा गरिएको छ । केही दिनअघि आयोजित एक भर्चुअल सम्मेलनमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यूरोप नेपाल च्याम्बर अफ कमर्श फर टुरिज्म (इएनसीसीटी) को घोषणा गरेका हुन् ।

समारोहमा यूरोपेली मुलुकहरुमा रहेका सबै नेपाली राजदूतहरुको सहभागिता रहेको थियो । नवगठित इएनसीसीटीको अध्यक्षमा दीपेशमान शाक्य चयन भएका छन् । २२ सदस्यीय कार्य समितिको महासचिवमा सोम सापकोटा (माल्टा), आर्थिक निर्देशकमा सपिला राजभण्डारी (रुस), जनसम्पर्क निर्देशकमा एकराज गिरी (स्पेन), पर्यटन व्यापार तथा लगानी निर्देशकमा सन्तोष भट्टराई (जर्मनी), सदस्यता व्यवस्थापन निर्देशकमा कमल भट्ट (स्वीटजरल्याण्ड), कार्यक्रम व्यवस्थापन निर्देशकमा कमलराज अधिकारी (फ्रान्स), सरकार समन्वय निर्देशकमा पृथ्वीराज राई (यूके) र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकमा रविन्द्र श्रेष्ठ (बेल्जियम) चयन भएका छन् ।

त्यस्तै, शिवकुमार बरुवाल (बेल्जियम), दीपक सापकोटा (डेनमार्क), हरि बुढामगर (यूके), सिएन ओ–ब्रोल्केन (आयरल्याण्ड), द्वारिका महर्जन (नर्वे), निशान सापकोटा (द नेदरल्याण्ड्स), लिओनिड म्यास्निकोभ (रुस), गोसाइराम काजी (जर्मनी), चैत्य कंसाकार (जर्मनी), कोशिष राज महर्जन (स्पेन), रोशन पाठक (स्पेन), भिसेन्ट गार्सिया (स्पेन) र तक्दिर महर्जन (बेल्जियम) सदस्यमा छानिएका छन्।

घोषणासभामा राजदूत सुवेदीले नवगठित संगठनले कोरोना महामारीका कारण ओरालो लागेको नेपाली पर्यटन उकास्न बल पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, इएनसीसीटीका अध्यक्ष शाक्यले पर्यटनका माध्यमबाट नेपाल र यूरोपबीचको सम्बन्ध थप बलियो बनाउँदै नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुर्याउने संस्थाको उद्देश्य रहेको बताएका थिए ।

नवगठित इएनसीसीटीका महासचिव सोम सापकोटाले विशेषगरी नेपालको पर्यटनलाई व्यावसायिक रुपमा अगाडि बढाउन संस्था स्थापना गरिएको बताए । पर्यटन प्रवर्द्धनका लागि यो संस्थामार्फत सरकारी तथा गैरसरकारी संस्थाहरुका बीचमा पुलको कामसमेत गरिने उनले जानकारी दिए ।