हङकङको एक रेस्टुरेन्टमा आगलागी, कम्तीमा ७ जना नेपालीको मृत्यु लण्डन


(जीएनएन) — हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । अठार जना घाइते भएका छन् जसमध्ये अधिकांश नेपाली रहेका छन् । आगलागीबाट एक नौ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार पुरुष र तीन जना महिला रहेका छन् । त्यस्तै गम्भीर अवस्थामा तीन पुरुष र चार महिलाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइते भने डिस्चार्ज भएका छन् । क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो । जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ । निधन हुनेहरु सबै नेपाली यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले निधन हुनेहरु सबै नेपाली भएको पुष्टि गरेका छन्।

सोमबार बिहान ट्वीट गर्दै उनले “नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित एक रेस्टुराँमा आगलागी हुँदा आठजना नेपालीको दुःखद निधन भएको समाचारले मर्माहत बनाएको” जनाएका छन् । अध्यक्ष पन्तले सो घटनामा गैरआवासीय नेपाली संघले उद्धार, राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको र संघको राष्ट्रिय समन्वय परिषद, हङकङकी अध्यक्ष टीका गुरुङ घाइतेहरुको उपचार भै रहेको अस्पतालमा रहेको जनाएका छन् । साउथ चाइना मर्निङ्ग पोस्टले एक सूत्रलाई उद्धृत गर्दै हताहति हुनेहरु मध्ये धेरै जसो नेपाली भएको जनाएको छ। हंगकंग प्रहरीका एक प्रवक्ताले उक्त रेस्टुरेन्टले संचालन अनुमति लिएको थियो कि थिएन भन्ने बारे अनुसन्धान भै रहेको बताए। सो आगलागी हंगकंगमा गत एक दशक यता भएका सबैभन्दा खराब आगलागीहरु मध्ये एक भएको समाचारहरुमा जनाइएको छ।