नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना संक्रमित थपिए


काठमाण्डौ –  नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३  संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएसँगै आज कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको बताउनुभयाे । जसमध्ये १३ हजार ५ सय ५९ जना संस्थागत आइसोलेसनमा रहेका छन भने २८ हजार १ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म कोभिड १९ संक्रतिको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट निको भएर घर फर्किनेको संख्या २ हजार १ सय ८ रहेको छ । हालसम्म कुल ९६ हजार ६ सय ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

आज देशभर २ सय ७३ जना संक्रमितको आइसियुमा उपचार भइराखेको छ । यस्तै भेन्टिलेटरमा ७८ जना रहेका छन् । देशभर ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ सय ६५ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ६१ पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल १३ लाख १४ हजार ७ सय ७९ पीसीआर परीक्षण भएको छ ।