नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ जना


काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा आज २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जना गरी काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

 यसैगरी नेपालमा कोरोना भाइरसबाट थप ८ जनाको मृत्यु भएको छ भने दुई हजार एक सय २० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार २ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा २ गरी उपत्यकामा तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ८३ र ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ६७, दोलखामा ६५, सिन्धुपाल्चोकमा ४१ र कैलालीमा ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा २८ र चितवनमा ७६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।

आज २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । आजसम्म ६२ हजार ७ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन । आज आइसियुमा २ सय १४ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन ।

संस्थागत आइसोलेशनमा देशभरी ९ हजार ७ सय ७७ जना रहेका छन । यस्तै होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना रहेका छन ।