पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौ – पछिल्लो २४ घण्टामा नेपालमा आज थप ९२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ पुगेको छ । आठ दिन अघि सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार २२९ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितमा ५९३ पुरुष र ३३४ महिला रहेका छन् ।

हालसम २० हजार २४२ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा १६९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेको दर ५६ प्रतिशत रहेको छ । हालसम्म ६ लाख ५८ हजार ११० जनाको पिसीआर गरिएको छ ।

देशभर हाल १६४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २२ सङ्क्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । हाल देशभर १६ हजार १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ६ हजार ४४६ सङ्क्रमित होम आइसोलेसनमा तथा ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा बस्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाम, उदयपुर र ओखलढुंगामा एक एका, झापामा १५, पाँचथरमा २, मोरङमा ४७, संखुवासभामा २, सुनसरीमा ४१ तथा सोलुखुम्बुमा एक जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ को धुनषामा २०, पर्सामा १, बारामा ४, महोत्तरीमा १३, रौतहटमा २१, सप्तरीमा ७, सर्लाहीमा १३ तथा सिरहामा १२ कोरोना सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको काठमाडौंमा ३५०, काभ्रेपलाञ्चोकमा १७, चितवनमा २६, धादिङमा १६, नुवाकोटमा ३, भक्तपुरमा ५४, मकवानपुरमा ५१, रसुवामा १, ललितपुरमा ११, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा २ जना सङ्क्रमित थपिएका छन् ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ११, लमजुङमा २ र बागलुङमा एक कोरोना सङक्रमित भेटिएको प्रवक्ता गौतमले बताउनुभयो । यस्तै प्रदेश ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा २, दाङमा १, नवलपरासीमा २, बर्दियामा २, बाँकेमा ३६ तथा रुपन्देहीमा ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जुम्लामा ६, दैलेखमा ११ र सल्यानमा ३ तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा ११ र डोटीमा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको संख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा आठ पुरुष तथा चार महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको संख्या १९५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मोरङकी ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया तथा मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै आज कोरोनाबाट रुपन्देहीका ६० वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय, झापाका ८३ वर्षीय, सिरहाका ५५ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । रासस