स्पेनका संघसंस्थाद्वारा सीमा अतिक्रमणको बिरोध 


बार्सिलोना। भारतले लिपुलेकमा सडक बनाएर नेपालको सीमा अतिक्रमण गरेको भन्दै एनआरएनए स्पेन लगायत संघसंस्थाहरुले बिरोध जनाएका छन्। भारतले सीमा मिचेर सार्वभौम राष्ट्रको भूगोलमा हस्तक्षेप गरेको भन्दै संघ संस्थाहरुले हालै हुलाकमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापानपत्र पठाएका हुन्। 

ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा लिपुलेक नेपाली भूमि भन्ने प्रस्ट भएकाले भारतले सीमा मिचेर सार्वभौम राष्ट्रको भूगोलमा हस्तक्षेप गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ। 

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे संघको गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघसंस्थाहरुले कडा भत्सर्ना गरेका छन्। 

भारत सरकारको पटक – पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको बिज्ञप्तिमा उल्लेख छ। 

नेपालको भूमि  (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग राखिएको छ। 

बिज्ञप्तिमा एनआरएनए स्पेनमा अध्यक्ष दिनेश गुरुङ, नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्मा,प्रबासी नेपाली मञ्च स्पेनका संयोजक हेम शर्मा र  स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माले हस्ताक्षर गरेका छन्। 

भारतले अतिक्रमण गरेको भू–भाग समेटेर नेपालको नक्सा अद्यावधिक गरेपछि अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरिसकेको छ ।