दीर्घकालीन विकासमा जोड दिएका छाै : मेयर जिसी


पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन सुझाव दिएका छन् । उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउँदै सोही अनुसार बजेट निर्माण गर्न आग्रह गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटनलाई टिकाइ राख्न र यो विषम परिस्थितिमा कृषिलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने उनीहरुले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दीर्घकालीन विकासलाई जोड दिएर महानगरपालिकाले बजेट निर्माण गरिरहेको बताए । कोरोना नियन्त्रण, रोकथाम, उपचार प्रभावकारी बनाउँदै खुद्रे योजना नभइ दीर्घकालीन महत्व राख्ने योजनालाई बजेटमा समेटिने उनले बताए । कास्कीका राजनीतिक दल, सांसदहरुको सुझावलाई बजेटमा समावेश गरिने प्रतिबद्धता समेत जिसीले गरेका थिए ।

कार्यक्रम बोल्दै सांसद तथा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइरालाले दीर्घकालीन विकासमा जोड दिँदै महानगर भित्र गरिबीको रेखामुनी रहेकाको तथ्यांक संकलन गर्नुपर्ने बताए । उनले महानगरको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिनुपर्ने बताए ।
सांसद मनबहादुर गुरुङले अबको २ वर्षमा पोखरामा सुकुम्बासी समस्या समाधान गर्ने गरी महानगरले योजना ल्याउनु पर्ने बताए । उनले पोखरामा अत्याधुनिक बसपार्क निमार्ण सम्बन्धी ठोस योजना बनाउन र आकाशे पुल निमार्णलाई पनि बजेटमा समेट्न आग्रह गरेका छन् ।
सांसद राजीव पहारीले कोरोनाको परीक्षण दायरलाई बढाउनुपर्ने बताउँदै त्यसप्रति महानगरले योजना बनाउनुपर्ने बताए । आम नगरवासीको जीवन रक्षा गर्दै सार्वजनिक सम्पतिको संरक्षण र पार्किङलाई व्यवस्थित गर्ने योजना ल्याउन उनले आग्रह गरे । उनले सडक मर्मतलाई फास्ट ट्रयाकबाट गर्नेगरी योजना बनाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने खालका योजना ल्याउन सुझाव दिएका छन् ।

सांसद प्रभा कोइरालाले सरुवा रोग नियन्त्रण गर्ने योजनासहित महानगरले आगामी बजेट निर्माण गर्नुपर्ने बताइन् । उनले फोहोर व्यवस्थापन, धुवा, धुलोरहित सहर निर्माणलाई प्राथमिकता दिन पनि महानगरलाई आग्रह गरिन् । उनले कोरोना रोकथामको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताइन् ।
सांसद गायत्री गुरुङले समृद्ध महानगर बनाउने योजना ल्याउन आग्रह गर्दै कोरोना नियन्त्रणलाई प्राथमिकता दिएर आगामी बजेट बनाउन सुझाइन् । उनले आवश्यकताका आधारमा योजना बनाएर बजेट निर्माण गर्न आग्रह गरिन् ।

सांसद मीना गुरुङले जनतालाई रोग, भोक र शोकबाट मुक्त बनाउने योजना ल्याउनु पर्ने बताइन् । उनले असंगठित क्षेमा काम गर्ने मजदुरहरुको विवरण संकलन गर्न आग्रह गरिन् । सांसद पुष्पा केसी भण्डारीले पोखराको भूगोल अनुसार विकासलाई प्राथमिकता दिएर योजना ल्याउनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आम नागरिकको जीवन रक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउँदै प्रकृति मैत्री दीगो विकासलाई जोड दिनुपर्ने बताए । उनले महानगर भित्र विकट ठाउँहरु पनि भएकाले त्यस्ता ठाउँहरुलाई प्राथमकितामा राखेर पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए । उनले कोरोना रोकथाम नियन्त्रण, उपचारलाई प्रभावकारी बनाउँदै विकास निर्माणलाई जोड दिन आग्रह गरे ।

जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङले महानगर भित्र रहेको स्रोत साधनलाई उच्चतम प्रयोग गर्दै दीगो विकासलाई जोड दिनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष गणेशबहादुर ढकालले कृषिलाई प्राथमकिता दिएर बजेट निर्माण गर्न सुझाए ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा नगर समिति सभापति बजीरमान श्रेष्ठ, जनता सामाजवादी पार्टीका नगर अध्यक्ष टीकाराम पौडेलले पनि सहरलाई व्यवस्थित बनाउने र महानगरको सेवालाई सेवाग्राही मैत्री बनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सहरी योजना आयोग पोखरा महानगरपालिकाका उपाध्यक्ष डाक्टर रामचन्द्र लामिछानले कोरोनाको प्रभाव र असरको अध्ययन, अनुसन्धान गरेर त्यसमै केन्द्रित भएर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी रहेको बताए । महानगरका लेखा प्रमुख जयराम पौडेलले चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था र आगामी वर्षको बजेट बारे प्रस्तुति राखेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेल, अनुगमन शाखा प्रमुख किरणप्रसाद कोइरालाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा महानगरले गरिरहेको कामको बारेमा जानकारी गराएका थिए ।