नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेकाे स‌ख्या ४ पुग्यो


काठमाण्डौ – नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङमा पछिल्लो पटक ६ नयाँ संक्रमित र १ मृतकको नतिजा पोजेटिभ आएसंगै संक्रमितको संख्या कुल ६८२ पुगेको जानकारी दिनुभयो । संक्रमितमा ६०२ जना पुरुष तथा ८० जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनु भयो । कोरोनाभाइरसबाट नेपालमा मृत्यु हुनेको स‌ख्या ४ पुगेकाे छ ।

नयाँ थपिएका ६ संक्रमितमा सेती अस्पताल अछाममा गरिएको परिक्षणमा मेललेखका ३२ वर्षिय पुरुष, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा बर्दिया गुलरीया १० का २२, २४ वर्षिय पुरुष तथा गुलरीया २ का १८ वर्षिय पुरुषमा पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा गरिएको परिक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । उनिहरु जीरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाई क्वारेन्टाईनमा रहेका १८ वर्षिय पुरष तथा काठमाडौं १५ घर भएका कलैया बारामा कार्यरत २८ वर्षका एक पुरुष रहेका छन् ।

यसैबीच, नेशनल मेडिकल कलेज वीरगञ्ज पर्सामा गत जेष्ठ ४ गते कलैया ७ बाराका ७० वर्षिय पुरुषको मृत्यु भएको थियो । उनमा क्षयरोगको संक्रमण थियो र दीर्घ स्वास फेर्न गाह्रो हुने समस्या भएर जेष्ठ २ गते अस्पताल भर्ना गरिएको थियो । आईसियूमा उपचार गर्दैगर्दा जेष्ठ ३ मा स्वाब संकलन गरेर परिक्षणको लागि काठमाडौं टेकुमा पठाईएको थियो । परिक्षण भएपछि नतिजा पोजेटिभ देखिएको डा.देवकोटाले बताउनु भयो ।

यसअघि बिहानको अध्यावधिक विवरणमा ७२ जना नयाँ संक्रमित थपिएका थिए । संक्रमितहरुमा धनुषा जिल्ला नगराईन नगरपालिका वडा नं ३ का ३०, ३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् । कपिलवस्तु शिवराज नगरपालिका वडा नं ४, ५ र ६ का १९, २० र २३ वर्षिय ३ जना पुरुष रहेका छन्

काठमाडौं टोखा नगरपालिका ३, ६, वुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षिय ३ जना पुरुष रहेका छन् । यस्तै बारा कलैया नगरपालिका कोटवाली १ का २५ र ३२ वर्षका दुई पुरुष रहेका छन् । रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षिय गरी २६ पुरुष रहेका छन् । उनिहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परिक्षण गरिएको हो ।

सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ का दुई पुरुषमा संक्रमण देखिएको छ । उनिहरुको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएको हो । यस्तै बर्दिया वासगढी ९ का २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएको हो । बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का १६, २३, २३ र २४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । उनिहरुको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमामा परिक्षण गरिएको हो ।

बारा गढीमाइ नगरपालिकाका १८ वर्षका ४ जना, १९ वर्षका २ जना, २० वर्षका ३ जना, २४ वर्षका २ जना, २५ वर्षका ३ जना, २६, ३०, ३१, ३६, ३६, ४०, ५० वर्षका गरी २१ जनामा संक्रमण देखिएको छ । उनिहरुको किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडामा परिक्षण गरिएको हो ।

दैलेखको नारायण नगरपालिका, ढुंगेधर गाउँपालिका की २५ वर्षिया महिलामा पनि संक्रमण देखिएको छ । उनको भेरी अस्पताल, नेपालगञ्जमा परिक्षण गरिएको हो । यस्तै दैलेख गुँरास गाउँपालिकाका २४ र २५ वर्षिय पुरुषमा कोभिड १९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनिहरुको प्रदेश अस्पताल, सुर्खेत÷पशुपंछी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा परिक्षण गरिएको हो ।

आज पुष्टि भएका नयाँ संक्रमितहरु सबैजना स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

डिस्चार्ज हुनेहरुको संख्या ११२

नेपालमा कोरोनाभाइरसको संक्रमण भएर अस्पतालमा उपचार गराएर निको हुनेहरुको संख्या ११२ पुगेको छ । पछिल्लो एकजना तौलिहवाट डिस्चार्ज भएको र डिस्चार्ज हुने व्यक्ति स्वास्थ्यकर्मि रहेको प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।